• १० असार २०८२, मङ्गलबार

कावासोतीको बजेट एक अर्ब ६१ लाख ४४ हजार

blog

ज्ञानु पंगेनी

मध्यविन्दु, असार १० गते । कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

मङ्गलबार भएको १७ औँ नगर सभामा नगर उपप्रमुख फूलकुमारी थनेतले आर्थिक वर्ष २०८२-८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ६१ लाख रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो । 

सभामा उपप्रमुख थनेतले बजेट प्रस्तुत गर्दै ६ करोड ५० लाख आन्तरिक स्रोतबाट, वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ८३ लाख, सशर्त अनुदान सङ्घीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपूरक अनुदान नेपाल सरकारबाट ६० लाख, आम्दानी हुने बताउनुभयो । 

यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड १८ लाख, सवारीसाधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख,  विषेश अनुदान प्रदेश सरकारबाट ४० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ बिक्री राजश्व बाँडफाँडबाट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट एक करोड आम्दानी हुने उपप्रमुख थनेतले जानकारी गराउनुभयो । 

यसैगरी व्ययतर्फ, प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा एक करोड, समपूरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा एक करोड, नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने उपप्रमुख थनेतले बताउनुभयो । 

सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ६६ लाख , विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट ४ करोड ५८ लाख, समपूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिताबाट एक करोड खर्च हुने गरी कुल एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमानित बजेट प्रस्तुत गर्नुभयो । 

नगर सभामा नगर प्रमुख विष्णु प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर यातायात गुरुयोजना अनुसार प्राथमिकीकरण गरिएका सडकहरूको विस्तार एवम् स्तरोन्नती, नगर रणनीतिक सडकहरूलाई फुटपाथ, ट्रयाक र वातावरण मैत्री  सडक निर्माण गर्न समन्वय गर्ने, ऊर्जामैत्री भवन निर्माणको नीति लिई ऊर्जामैत्री घर निर्माण गर्ने कार्यलाई प्रोत्साहित गर्ने नीति नगरले अघि सारेको बताउनुभयो । 

यस्तै कावासोतीको केरुङे खोलाका तटीय क्षेत्रका वडाहरू १,२,३,४,५,९,१०,१५ मा तटबन्ध गरी खोलाको किनारमा हरियाली क्षेत्र (ग्रिन बेल्ट ) निर्माण गर्ने, साइकल लेन, फुटपाथ सहितको कोरिडोर मार्ग निर्माण गर्ने नीति अघि सार्दै त्यसका लागि नेपाल सरकार र दातृ निकायसँग सहयोग लिने र बाँकी रहेको जमिनलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिने गरी योजना तयार गर्ने नगर प्रमुख भुसालले जानकारी दिनुभयो । 

यसैगरी कावासोती नगरपालिकाभित्र अटो पार्किङको लागि क्षेत्र निर्धारण गरी अटो दर्ता तथा नियमन कार्य अगाडि बढाइने, पूर्व पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरण र सुरक्षाका लागि सडक बत्ती र सिसी क्यामेरा वडा गरिने लगायतका नीति कार्यक्रम सभामा नगर प्रमुख भुसालले प्रस्तुत गर्नुभएको थियो ।  

यस्तै प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले सभामा प्रस्तुत गर्नुभएको संशोधित आर्थिक विद्येयक २०८२ र विनियोजन विधयक २०८२ पनि पारित गरेको छ ।