गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ९ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेडियोग्राफर तथा रेडियोलोजिस्टहरूको समस्या सम्बोधन गर्न सरकार प्रयत्नशील रहने बताउनुभएको छ । नेपाल रेडियोलोजिकल सोसाइटीको सोमबार ज्ञापनपत्र बुझ्दै उहाँले सोसाइटीले राखेको मागका विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रको एक प्रमुख अङ्ग रहेको रेडियोलोजिकलतर्फ जनशक्ति व्यवस्थापनप्रति सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । सोसाइटीका अध्यक्ष मुकेशकुमार झाको नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री पौडेलसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको थियो । सोसाइटीले केन्द्रस्तरका सात वटा अस्पतालमा सिफारिस गरिएका रेडियोग्राफर, टेक्नोलोजिस्ट र उपप्रमुख पदहरूलाई स्थायी दरबन्दीमा राख्न बजेट विनियोजन गरिनुपर्ने, देशभर आवश्यक रेडियोग्राफीको जनशक्ति दरबन्दीको ओएनम गरिनुपर्ने, यस सेवाका लागि निरन्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्ने र रेडियोग्राफर समूहको छुट्टै सेवा संरचना निर्माण गरिनुपर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख छ ।
अर्थमन्त्री पौडेलले सोसाइटीको मागप्रति आफू अत्यन्त सकारात्मक रहेको र यस क्षेत्रको जनशक्ति व्यवस्थापनप्रति पनि गम्भीर रहेको बताउनुभएको सोसाइटीका अध्यक्ष झाले बताउनुभयो । मागमा उल्लेखित विषयमा स्वास्थ्य मन्त्रालयसँग चाँडै छलफल गर्ने अर्थमन्त्रीले बताउनुभएको झाले जानकारी दिनुभयो ।