रामकृष्ण बोहरा
बागलुङ, असार ९ गते । बागलुङ नगरपालिका वडा नंं. ४ को कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा अध्ययन गर्ने तीस जना बटुकको आँखा परीक्षण गर्दा सात जनामा गम्भीर समस्या देखिएको छ । तीमध्ये सबै जनालाई तत्कालका लागि चस्मा वितरण गरिए पनि सात जनामा समस्या देखिनुलाई चिकित्सक र स्थानीयले गम्भीर रूपमा लिएका छन् ।
यो झन्डै २५ प्रतिशत समस्या हो । सयौँको शिविरमा केहीलाई समस्या देखिनु सामान्य लागे पनि विद्यालय उमेरका सानो सङ्ख्यामा ठुलो समस्या देखिएको हो । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रको अगुवाइमा धौलागिरि आँखा अस्पतालका चिकित्सकले गरेको परीक्षणमा उक्त समस्या देखिएको कार्यक्रम व्यवस्थापक सालिकराम शर्माले बताउनुभयो । केही समयदेखि केन्द्रले आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । आँखा जाँच गर्दा बटुकहरूको उपचारमा ख्याल गर्नुपर्ने आवश्यकता देखिएको हो ।
उपल्लाचौरस्थित धौलागिरि आँखा अस्पतालको प्राविधिक सहयाेगमा केन्द्रले निःशुल्क शिविरमार्फत बटुकको आँखा परीक्षण गराएको थियो । जिल्लाभर चार हजार विद्यार्थीमा आँखा परीक्षणको काममा केन्द्रले काम गरिरहेको छ । अन्य विद्यालयमा भने यो सङ्ख्यामा आँखामा समस्या नदेखिएको व्यवस्थापक शर्माले बताउनुभयो ।
परीक्षणमा सहभागी डा. विनम लामिछानेले आँखामा समस्या देखिएको गम्भीर भएको बताउनुभयो । डा. लामिछानेले बालबालिकामा आँखाको समस्या बढ्नुमा आनीबानी प्रमुख कारण हुने बताउनुभयो । मोबाइल धेरै हेर्ने, समयमा नसुत्ने, उचित पौष्टिक आहारबिहारमा ख्याल नगर्ने जस्ता कारण भएको डा. लामिछानेको भनाई थियो । ती बटुकहरूको हकमा खानपानमा पनि केही चासो बढाउनुपर्ने उहाँको सुझाव छ ।
व्यवस्थापक शर्माका अनुसार, नेदरल्याण्डको वाइल्ड डि ग्यान्जेनको सहयोगमा जिल्लाका १ सय २२ विद्यालयमा स्वास्थ्य तथा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ । त्योमध्ये १५ विद्यालयमा आँखाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । थप १० विद्यालयमा मुख स्वास्थ्य कार्यक्रमअन्तर्गत बालबालिकाको दाँतको स्वच्छता कार्यक्रम सञ्चालन भएको छ ।