देवराम यादव
सप्तरी, साउन १७ गते । जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा उमेशप्रसाद यादव र केदारप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । राजविराजस्थित पार्टी कार्यालयमा शनिबार जिल्ला निर्वाचन समितिमा छुट्टाछुट्टै प्यानलसहित उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता बमोजिम अध्यक्ष पदमा उम्मेदवार उमेशप्रसाद यादवले बिहान ९ः५७ बजे उम्मेदवारी दर्ता गरे भने अर्का अध्यक्षका उम्मेदवार केदारप्रसाद यादवले बिहान ९ः२१ बजे उम्मेदवारी दर्ता गराएका छन् ।
केदार यसअघि पार्टी जिल्ला अध्यक्ष थिए भने उमेश उपाध्यक्ष थिए ।
उमेशको प्यानलबाट उपाध्यक्ष हरेराम यादव, राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन, राहुल मण्डल र कोषाध्यक्षमा अभिनभ यादव (निकु) रहेका छन् ।
यसैगरी, केदारको प्यानलबाट उपाध्यक्षमा लक्ष्मण यादव, उषा साह, सचिव शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी, रामेश्वर कौडगिया र कोषाध्यक्ष अर्मेन्द्रकुमार यादव छन् ।
सात पदाधिकारी खुला, २५ भुगोल र समावेशी २५ गरी ५० सदस्य जिल्ला समिति चयनका लागि साउन १८ गते बिहान ८ देखि १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत धनेश्वर यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला नेतृत्व चयनका लागि विभिन्न पालिका र भातृसङ्गठन गरी एक सय १५ जनाले मतदान गर्ने जानकारी दिनुभयो ।