पुतलीबजार समाचारदाता
पुतलीबजार, साउन १७ गते । वालिङ नगरपालिकाले नगरभित्र व्यावसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । विभिन्न खेती गर्दै आएका २३६ किसानलाई नगरपालिकाले गत आवको बजेट अन्तर्गत ३० लाख रुपियाँ बराबरको प्रोत्साहन अनुदान प्रदान गरेको हो ।
मुख्य बाली अन्तर्गत सुन्तला जातका फलफूल, तरकारी, मौरी, च्याउ, मसला बाली, रैथाने बाली, उखु र ड्रागन फ्रुट लगाएका किसानलाई प्रोत्साहन अनुदान वितरण गरिएको हो । उत्पादन, क्षेत्रफल तथा बिक्री वितरणमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि–२०८१ को मापदण्ड अनुसार न्यूनतम आठ हजारदेखि एक लाखसम्म नगद वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो ।
कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्नुहुन्छ, “किसानलाई प्रोत्साहन गर्न बिनाब्याज बिउ पुँजी लगानी, प्रोत्साहन अनुदानलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस्, बजारको ग्यारेन्टी स्थानीय सरकारले गर्छ ।” वालिङ नगरपालिकाले मुक्तिनाथ विकास बैँकसँगको सहकार्यमा बाख्रापालन गर्ने किसानलाई बिनाधितो व्यवसाय प्रवर्धनमा लगानी र बजार ग्यारेन्टीको अभियान सञ्चालन गरेको उपप्रमुख तिवारीले बताउनुभयो ।
उत्पादनशील अवस्थाका न्यूनतम ३० बोट सुन्तला जातका फलफूल र कफी लगाएका किसानलाई प्रतिबोट तीनदेखि पाँच सय रुपियाँसम्म प्रोत्साहन अनुदान वितरण गरिएको छ । यस्तै न्यूनतम दुई रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी, मसला, उखु तथा रैथाने बाली लगाएका किसानलाई प्रतिरोपनी कुल उत्पादन लागतको २० प्रतिशतसम्म प्रोत्साहन अनुदान प्रदान गरिएको कृषि शाखा प्रमुख सुवासचन्द्र अर्यालले बताउनुभयो । न्यूनतम ५० वटा मुढा वा परालको पोकामा व्यावसायिक च्याउ खेती गरेका किसानलाई प्रतिमुढा वा पोका दुई सय रुपियाँसम्म प्रोत्साहन अनुदान प्रदान गरिएको अर्यालको भनाइ छ ।
पछिल्लो समय अत्यधिक लोकप्रिय बन्दै गएको ड्र्यागन खेती गर्ने किसानलाई लक्ष्य गर्दै न्यूनतम ५० वटा पिल्लरमा ड्र्यागन फलाएका कृषकले प्रतिपिल्लर दुई सय रुपियाँ अनुदान पाएका छन् । वालिङ–१, धरमपानीका कृषक कृष्ण ढुङ्गानाले पछिल्लो चार वर्षदेखि ड्र्यागन खेती गर्दै आउनुभएको छ । यस पटकको प्रोत्साहन अनुदानबापत नगद एक लाख रुपियाँ पाएपछि उहाँ निकै उत्साहित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नियमित उत्पादन भइरहे पनि पहिले यति ठुलो सहयोग पाइएन । अब त अझै उत्साह थपिएको छ ।”
नगरपालिकाको यो कार्यक्रम लागु भएसँगै वालिङ नगरभित्र व्यावसायिक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीको सङ्ख्या पनि बढेको छ । छ महिनामा मात्र एक लाख ३३ हजार ७७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा सङ्कलन भएको छ ।