हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन १७ गते । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा माथिबाट सुख्खा पहिरोले सडक अवरुद्ध भयो । शनिबार बिहान मर्मपछि एकतर्फी सञ्चालनमा आएको छ । यसअगाडी सोही स्थानमा चार पटकसम्म सडक अवरुद्ध भएको थियो । उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग कागखोला, ताङ्वे खोला र मुस्ताङ गेटमा बाढीपहिरोले देनिकजसो सास्ती हुने गरेको छ । सामान्य वर्षमा पनि खोला उर्लिएर सडक अवरुद्ध हुन थालेपछि उपल्लो क्षेत्रमा जाने यात्रुले सास्ती खेप्नुपरेको छ ।
बारागुङ मुक्तिक्षेत्र–३, छुसाङ हुँदै उपल्लो मुस्ताङको लो–घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले यो मनसुनको समयमा पाँचपटक सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट जोखिम मोलेर यात्रा गर्न बाध्य भए । पछिल्ला वर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेपछि तल्लो र उपल्लो मुस्ताङमा यात्रा गर्ने स्थानीय, पर्यटक र कर्मचारीलाई सुख्खा पहिरोका कारण समस्या आउजाउमा कठिनाई भएको छ । कालीगण्डकी काेरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोखिमपूर्ण मानिका स्थानमा बाढीपहिरो लगत्तै डोजर परिचालन गर्ने गरेपनि दैनिक पाँच/सात घण्टा अवरुद्ध हुने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरूङ भन्नुुहुन्छ, ‘‘बाढीपहिरोले मुस्ताङीलाई सताउने गरेको छ, जलवायु परिवर्तनका हरेक असरहरूका सामाना गर्नुपरेको छ।’’ विगत एक दशक अगाडीसम्म सामान्य वर्षा बाहेक बाह्रै महिना सडक सञ्जाल सञ्चालन हुने गरेकोमा पछिल्ला केही वर्ष यता नियमित हुने वर्षाले तल्लो र उपल्लो मुस्ताङ क्षेत्रमा समेत बाढीपहिरोले बस्ती नै जोखिममा पर्ने गरेको छ ।
बेनी–जोमसोम सडक खण्ड अन्तर्गत छिमेकी जिल्ला म्याग्दी र मुस्ताङको सिमानामा सुख्खा पहिरो खसिरहन्छ । सामान्य वर्षा र हल्का हावाहुरीमा ढुङ्गामाटो खसेर सवारीसाधन र यात्रुलाई चोट लाग्ने गरेको अवस्थामा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको रहेको यात्रु रविन सुवेदीले बताउनुभयो । भिरालो जमिन, भूमिगत पानी, कमजोर भुवनावटकै कारण बर्खातको समयमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मुस्ताङकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । सडक खण्डअन्तर्गत प्रहरी चौकीले समेत यात्रुलाई सडकको अवस्था र जोखिमपूर्ण क्षेत्रका बारेमा जानकारी दिने गरेको प्रनाउ लामाको भनाइ छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्डअन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ । वर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रिय राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।