शालिग्राम नेपाल
चितवन, असार ९ गते । मुग्लिन–मलेखु खण्डका चारवटा पुलमा आरसीसी विम राख्ने काम सकिएको छ । पुलमा विम राख्न गरिएको रातिको बन्द आइतबारबाट खुला गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदार नेपालले अहिलेलाई चारवटा पुलमा विम राख्ने काम सकिएकाले केही दिनबाट विममाथि स्ल्याप राख्ने काम गर्ने बताउनुभयो । यता राति खुला गरिए पनि पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा विम गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आइतबार र सोमबार राति बन्द हुने प्रमुख नेपालले जानकारी दिनुभयो ।
पश्चिम खण्डमा बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राखिएको थियो । ती पुलमा ढलान गर्ने काम छिटो हुनेछ । दुई वटा असार मसान्तभित्रमा र अर्को दुइ वटा साउन भदौमा सम्पन्न गर्ने तयारी रहेको प्रमुख नेपालले बताउनुभयो । चारवटै पुल दसैं अगाडि सम्पन्न गरेर सवारी साधन सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो ।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो । नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ । आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागेको जानकारी दिएको छ ।
मुग्लिनदेखि मलेखुसम्मको ३८.८६ किलोमिटर क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम भइराखेको कार्यालयले जानकारी दिएको छ । यसको अहिलसम्म ३३ प्रतिशत काम सम्पन्न भएको कार्यालयका प्रमुख नेपालले जानकारी दिनुभयो ।
आठ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । अहिले दुई किलोमिटर कालोपत्रे गर्ने तयारी भइरहेको छ । असार मसान्तसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न हुनेछ । चार अर्व ८० करोड ५९ लाख ७४ हजार ९ साय १२ रुपियाँ ६४ पैसामा ठेक्का लागेको थियो । शर्मा जेडआइसिजी जेभीले निर्माणको ठेक्का पाएको कम्पनीले २०७९ मङ्सिर ७ गते सम्झौता गरेको थियो । सडक विस्तार २०८२ पुस १३ गते सम्पन्न गर्नुपर्ने छ ।