• ९ असार २०८२, सोमबार

अमेरिकाद्वारा इरानमाथि आक्रमण

blog

इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको अमेरिकी युद्ध विमान (बी–२) ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ९ गते । अमेरिकाले इरानका तीन वटा आणविक केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्डो, नातान्ज र इस्फहान आणविक केन्द्रमा आइतबार बिहान शक्तिशाली बम प्रहार गरी आक्रमण गरिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।  

बम प्रहारबाट इरानका तीन वटा आणविक केन्द्रमा ठुलो क्षति पुर्‍याएको बताउँदै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब इरान बिनासर्त शान्तिको बाटोमा आउनुपर्ने नत्र यसभन्दा चर्को आक्रमण सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । 

इजरायल र इरानबिच युद्ध सुरु भएको १० औँ दिनमा इजरायलको अनुरोध स्वीकार गरी अमेरिका इरानविरुद्धको युद्धमा सामेल भएको हो ।

इजरायलसँग इरानका आणविक केन्द्र ध्वस्त पार्ने बङ्कर बम छैन । इजरायलको अनुरोधमा अमेरिकाले आफूसँग भएको बङ्कर बम प्रहार गरी इरानमाथि आक्रमण गरेको हो । इरानमाथि आक्रमण गरेपछि राष्ट्रका नाममा छोटो सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई बधाई दिँदै आफूहरूले इजरायलका लागि यस भयानक खतरा मेट्न एकसाथ काम गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यहाँ कि त शान्ति हुने छ या त इरानका लागि विगत आठ दिनमा हामीले देखेभन्दा निकै ठुलो त्रासदी हुने छ ।” “याद रहोस्, धेरै निसाना बाँकी छन् । आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातकसमेत थियो तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निसानामा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जाने छौँ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । 

कैयौँ रिपब्लिकन सिनेटरले राष्ट्रपति ट्रम्पको कदमको समर्थन गरेका छन् भने केही डेमोक्रेटिक सिनेटरले संसद्को अनुमतिबिना आक्रमण गरिएको भन्दै आलोचना गरेका छन् ।उता इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई अपमानजनक भन्दै निन्दा गर्नुभएको छ । उहाँले इरानले आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्प सुरक्षित राखेको बताउनुभएको छ । 

इजरायलका प्रधानमन्त्री बेज्यामिन नेतन्याहुले आफ्नो आग्रह स्वीकार गरी इरानविरुद्धको युद्धमा सामेल भएकामा राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले इरानमाथि आक्रमण गर्ने लक्ष्य यसको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई उन्मूलन गर्ने बताउनुभएको छ । उहाँले इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमलाई इजरायलको अस्तित्वका लागि खतरा भएको बताउनुभएको छ ।

आफूमाथि अमेरिकाले समेत आक्रमण गरेपछि आक्रोशित इरानले युद्ध अनन्त हुने भन्दै इजरायलमाथि दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले जनाएको छ । इरानी क्षेप्यास्त्र प्रहारबाट तेल अबिबमा ८० जनाभन्दा बढी घाइते भएका छन् भने आवासीय भवनमा क्षति पुगेको छ । 

यसैबिच युद्धमा अमेरिका सामेल भएकोमा चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धबाट होइन, कूटनीतिबाट इरानको समस्या समाधान गर्न आग्रह गर्नुभएको बिबिसीले जनाएको छ । बेलायतले अमेरिकी आक्रमणप्रति समर्थन गरेको छ ।  चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनले भने इरानमा गरिएको अमेरिकी आक्रमणको विरोध गरेको छ ।