पुष्कर भण्डारी
डडेल्धुरा, असार १० गते । जोगबुडाको सिँचाइ कुलोमा लडेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–५, महाकाली नदी किनारको परिगाउँमा महिलाको मृत्यु भएको हो ।
स्थानीय धनादेवी विष्ट सोमबार बेलुकी घरनजिकैको सिँचाइ कुलोमा लडेर ज्यान गएको उहाँका श्रीमान् कृष्णबहादुर बिष्टलाई उदृत गर्दै आफन्तले जानकारी दिनुभएको छ ।
मृतक विष्ट सोमबार बेलुका करिब ८ बजेको समयमा घरनजिकै खेतमा गएको बुझिएको छ । उहाँको खेतमा पानी लगाउन गएको बुझिएको छ । अबेर रातिसम्म उहाँ घर नफर्किएपछि खोजी गरिएको थियो । खोज्न जाँदा नजिकैको सिँचाइ कुलोमा लडेको र खुट्टा, टाउकोमा चोट लागेको अवस्थामा फेला पार्नु भएको थियो । उपचारका लागि जोगबुडा अस्पताल समेत पुर्याइएको परिवारका सदस्यको भनाइ छ ।
घाइते विष्टलाई सोमबार राति नै जोगबुडा अस्पताल पुर्याइएको थियो । जोगबुडा अस्पतालका चिकित्सकले विष्टलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक सुरज रोकायाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।
प्रहरी निरीक्षक रोकायाका अनुसार मृतक विष्टको निधारमा घाउ र खुट्टामा चोट देखिएको छ । घटनास्थलको जाँचबुझ गरी पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण पत्ता लाग्ने उहाँले बताउनुभयो ।