• १३ असोज २०८१, आइतबार

मतदान गर्न तम्तयार मतदाता

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख ३०  गते । विराटनगर–८, अरुणमार्गमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनुभएका डिल्लीराम कोइराला शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न बिहानै पुग्ने योजनामा हुनुहुन्छ । सप्तकोसी बोर्डिङ स्कुल केन्द्रबाट मतदान गर्नुहुने कोइराला आफ्नो मताधिकार प्रयोगमा उत्साही हुनुहुन्छ । 

कोइरालाकै पसलमा खाजा खाइरहनुभएका विराटनगर–१४ का कमल यादव सिटी सफारीचालक हुनुहन्छ । उहाँले स्नातकोत्तर क्याम्पसबाट मताधिकारको प्रयोग गर्नुहुन्छ । “जितेर जानेले काम गरे कि गरेनन् भन्ने कुरा छोडेर भए पनि मतदान गर्न जान्छु,” यादवले भन्नुभयो, “अघिल्ला निर्वाचनभन्दा यस पटक नेताहरूले कम आश्वासन बाँडेका छन्, जितेर गएपछि केही गर्लान् कि !”

मोरङको जहदा गाउँपालिका–१, दुर्गा माविबाट मतदान गर्नुहुने वीरेन्द्र मण्डल विराटनगर–१० मा व्यवसाय गर्नुहुन्छ । उहाँले शुक्रबार मतदान गर्न जाने तयारीस्वरूप बिहीबार नै धेरै काम सक्नुपर्नेछ । “मतदान गर्ने दिन भएकाले पसल खोल्न सकिँदैन, त्यही भएर भोलिका केही काम अहिले गरिरहेको छु,” मण्डलले भन्नुभयो, नागरिकले प्रयोग गर्ने मताधिकारका लागि उत्साही भएर मतदान गर्नेछु । 

निर्वाचनका लागि उमेदवारहरूले घरदैलो सकेका छन् । मौन अवधिमा पनि मतदान केन्द्र निर्माणलगायतको तयारीले निर्वाचनको वातावरणमा उत्साह थपिरहेको छ । निर्वाचनको दिन मतदान गर्नका लागि नागरिक तम्तयार भएर प्रतीक्षामा देखिन्छन् । विराटनगर निवासी शोभा निरौलाले आफ्नो एक मत प्रदान गरेर पाँच वर्षका लागि जनप्रतिनिधि चुन्ने अधिकारलाई सदुपयोग गर्ने बताउनुभयो तर मतको सदुपयोग जनप्रतिधिले नागरिकबीचमै गर्नुपर्ने उहाँको सुझाव छ । 

प्रदेश १ मा एक हजार ८७७ मतदान स्थलका चार हजार ५१ मतदान केन्द्रमा ३३ लाख ४७ हजार ३८४ जना मतदाताले मत खसाल्ने व्यवस्था मिलाइएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले सबै मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । 

विराटनगरमा १४० मतदान केन्द्रबाट एक लाख ३३ हजार मतदाताले मतदान गर्नेछन् । मतदाताले निर्वाचनमा मतदान गर्नका लागि आफ्नो पहिचान खुल्ने कागजात तयार पार्नेदेखि कसलाई मतदान गर्ने भन्ने धारणासमेत तयार पारिसकेका छन् । विराटनगर–३ का श्याम भण्डारीले निर्वाचनमा उत्साहजनक रूपमा सहभागिता जनाउँदै मतदानमा सरिक हुनुपर्ने बताउनुभयो । मतदानमा सहभागिता जनाएर मात्रै जनप्रतिनिधिलाई जवाफदेही बनाउन दबाब दिन सकिने उहाँको बुझाइ छ । मतदाताले विगतमा गरेका कामको आधारमा जनप्रतिनिधिको मूल्याङ्कन गरेर मात्रै मतदान गर्ने बानीको विकास गरे त्यसले जिम्मेवारी र जवाफदेहितालाई बढाउनेछ ।