• ९ वैशाख २०८३, बुधबार

‘सिँचाइ व्यवस्था गरी कृषि उत्पादन बढाउने प्राथमिकता’

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), वैशाख ९ गते । सप्तरी कञ्चनरूप नगरपालिका–८ का खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । एक साधारण परिवारबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विकासनिर्माणको काम हुने आसमा क्षेत्रवासी छन् । उहाँको घर सप्तरी–१ मा रहेको छ । सांसद कर्णले आफ्नो क्षेत्रमा रहेको सिँचाइको अभावलाई समाधान गरी कृषि उत्पादनमा वृद्धि गराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । 

उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो, “हाम्रो क्षेत्रमा किसानको सङ्ख्या बढी भए पनि खेतमा सिँचाइ नपुग्दा खेतीपाती गर्न असहज हुँदै आएको छ । खेतमा सिँचाइ पु-याएर किसानलाई समृद्ध बनाई कृषि उत्पादन बढाउने कामलाई प्राथमिकतामा राखेर काम गर्ने छु ।” नेपाल विद्यार्थी सङ्घपछि नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलको केन्द्रीय सदस्य हुँदै महाधिवेशन प्रतिनिधि रहेकै बेलामा जेनजी आन्दोलनपछि रास्वपामा प्रवेश गर्नुभएका प्रतिनिधि सभा सदस्य कर्णले कृषि क्षेत्र अन्तर्गत सिँचाइलाई प्राथमिकतामा राख्नुका साथै अयोध्या जनकपुर रेलवे लाइनको विकास गर्ने पनि आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

२०६१ को प्रतिगमनविरुद्धको आन्दोलनबाट राजनीतिमा होमिनुभएका उहाँ त्यतिबेला एक्मी इन्जियिरिङ कलेज काठमाडौँमा अध्ययनरत हुनुहुथ्यो । उहाँले भन्नुभयो, “२०६१ मा प्रतिगमनविरुद्ध एक्मी इन्जियिरिङ कलेज पढ्दै गर्दा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिको सुरुवात गरेका थिएँ ।” उहाँले शिक्षा र स्वास्थ्यमा व्यापक सुधारको आवश्यकता रहको बताउँदै सप्तरीको क्षेत्र नम्बर १ का आमजनता कोशी वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्ती, अर्नालगायतका जनावरबाट जनधनको क्षति बेहोर्दै आएकाले त्यसतर्फ पनि आफूले सरकार तथा सदनसमक्ष जनताको आवाज पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “म बसोबास गरेको क्षेत्रमा बर्सेनि जनता कोशी वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्ती, अर्नाले किसानको धानबाली नष्ट गर्दै आएको, घरमा प्रवेश गरी घर भत्काउनुका साथै ज्यानसमेत लिने गरेकाले यसको स्थायी समाधानका लागि सरकारले ठोस नीति अगाडि सार्नुपर्ने र त्यसका लागि महिले पहल गर्छु ।” सामान्य परिवारमा जन्मिनुभएका प्रतिनिधि सभा सदस्य ४४ वर्षीय कर्ण राजनीतिमा लाग्ने उहाँको परिवारबाट पहिलो व्यक्ति हुनुहुन्छ । कञ्चनरूपमै उहाँका बुवा भूपेन्द्रनाराण कर्णले पुस्तक पसल गरेर इन्जियरिङसम्म पढाउनुभएको हो । 

उहाँ भन्नुहुन्छ, “म एउटा सामान्य परिवारबाट राजनीतिमा आएको हुँ, पिताजीले पुस्तक पसल सञ्चालन गरेर एकदमै न्यून खर्च दिनु हुन्थ्यो जसले पूरा महिना धान्न पनि धौ धौ पथ्र्यो ।” उहाँले पुरानो दिन सम्झिँदै भन्नुभयो, “म अहिले पनि सामान्य रूपमा जीवन बिताउँदै आएको छु ।” आफू समानुपातिकतर्फको सांसद भएकोले राष्ट्रिय रूपमा पनि केही महìवपूर्ण योजना लागु गराउने आफ्नो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेपाल सरकारका सबै सरकारी कार्यालय ग्रिन इनर्जी (सोलारबाट) सञ्चालन हुनुपर्ने आफ्नो एजेन्डामा रहेको बताउनुभयो । यसले खर्चमा मितव्ययिता कायम हुने र सरकारी कार्यालय सञ्चालनमा अहिले खर्च भइरहेको विद्युत् बेचेर देशलाई आर्थिक समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।