• ११ असोज २०८१, शुक्रबार

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं

blog

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन।

काठमाडौँ, असोज ९ गते।  ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको प्रमुख  चिरिबाबु महर्जनले बताउनुभएको छ। 

बुधबार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।  

प्रमुख महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि चार मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्री पु र्‍याउने योजना तय गरिएको पनि बताउनुभयो।  हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकामध्ये विपदमा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उहाँको भनाइ थियो।  

प्रमुख महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम राम्रोसँग अघि बढाएको दाबी गर्नुभयो।  उहाँले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सबस्टेशन बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्षभित्रैबाट सुरु गर्ने जानकारी दिनुभयो। 

प्रमुख महर्जनले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिका छन् भने ती सबै नगरपालिकामध्ये विपदमा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौं।  यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ। ’ 

प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रभित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको बताउनुभयो।