• ११ असोज २०८१, शुक्रबार

पोखरीमा डुबेर बेपत्ता बालिकाको शव फेला

blog

पोखरीबाट बालिकाको शव निकाल्दै स्थानीय प्रहरी । तस्बिर : विजयकुुमार साह

विजयकुमार साह 

ढल्केबर, असोज ९ गते । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । धनुषाधाम नगरपालिका–३, स्थित धनुषसागर पोखरीमा मङ्गलबार दिनको १२ बजे नुहाउने क्रममा डुबेर बेपत्ता भएकी १३ वर्षीया चन्द्रिका मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक गणेश खनालले पोखरीमा डुबेर बेपत्ता बालिकाको शव राति ११ बजे भेटिएको बताउनुभयो । बेपत्ता भएको झण्डै २३ घण्टापछि मृत्यु अवस्थामा उनकोे शव पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय बिकाउ मण्डलको छोरी चन्द्रिका साथीसँग पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । उहाँले भन्नुभयो, “घटना थाहा पाए लगतै स्थानीयको सहयोगमा प्रहरी टोली मङ्गलबार अबेर साँझसम्म खोजी गरे पनि बालिका फेला परेकी थिइनन् । बालिकालाई खोज्न माछा मार्ने जाली र मोटर बोटको प्रयोग गरिएको थियो । राति पानीमाथि शव तैरिरहेको अवस्थामा भेटिएको हो ।”

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।