• ११ असोज २०८१, शुक्रबार

खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धनका आधार: प्रचण्ड

blog

कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत ।

काठमाडौँ, असोज  ९ गते। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार भएको बताउनुभएको छ। 

अखिल नेपाल चेस एसोसिएसनको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। 

‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राष्ट्रियता प्रवर्द्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रूपान्तरणको दिशामा लैजाने एउटा महत्त्वपूर्ण क्षेत्र खेलकुद हो। ’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो। 

त्यस्तै संस्कृति अर्को महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।  विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्त्व छ।’

आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारको रूपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरिएको र त्यसमा सरकारको तर्फबाट दिल खोलेर सहयोग गरेको उहाँले स्मरण गराउनुभयो।  खेल र संस्कृति यी दुवै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुशासन र समाजको मर्यादा स्थापित गर्न महत्त्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो।  

नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलो पटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताउनुभयो।  त्यसका लागि खेलाडी र व्यवस्थापन पक्ष सबैलाई उहाँले बधाई र धन्यवाद पनि दिनुभयो। 

खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो।  हिजो जनयुद्धकलामा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यतीत गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले चेसको विकास गर्ने अभियानमा त्यही क्रान्तिमा सामेल भएका पूर्वजनमुक्ति सेनाहरूको नेतृत्वदायी भूमिका रहेको देख्दा खुसी लागेको बताउनुभयो।