• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्ण : महासचिव पोखरेल

blog

पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलसहितका नेताहरू । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, असोज ९ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भइरहेको बताउनुभएको छ । भ्रमणका क्रममा त्यहाँ कुनै खालको विरोध, नाराजुलुस नभएकाले भ्रमपूर्ण प्रचारका पछाडि नलाग्न आग्रह गर्नुभयो । 

धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यतालिका निक्कै व्यस्त रहेको बताउनुभयो । व्यस्तताका कारण एउटा कार्यक्रम स्थगित भएको उहाँको भनाइ छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि संयुक्त राष्ट्रसङ्घको महासभामा व्यस्त रहनुभएको उहाँले बताउनुभयो । 

‘सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग गरी अनेक हल्ला चलाइएका छन्, यसले वैकल्पिक शक्ति बन्छौ भन्नेहरूको नियत प्रस्ट भएको छ’ महासचिव पोखरेलले भन्नुभयो ।  

फरक प्रसङ्गमा उहाँले रास्वपाका सभापति रवि लामिछानेले आफूमाथिको अनुसन्धान प्रभावित बनाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीविरुद्ध दुष्प्रचार गरिएको बताउँदै यस्तो गर्नु कानुनी राज्यको उपहास हो, भन्नुभयो । 

उहाँ (रबी) ले निसर्त रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राख्दै महासचिव पोखरेलले भन्नुभयो, “सहकारीको पैसा कम्पनीमा लगानी गर्न कानुनले दिँदै दिँदैन, सहकारीको पैसा अनुचितरुपमा कम्पनीमा ल्याएर जथाभाबी खर्च गर्ने, अहिले क्लिन चिट पाएँ भनेर हल्ला फैलाउने ? क्लिन चिट त अदालतले दिने होला नि ।’

उहाँले युद्ध लड्नेको प्रशंसा गरेका छौँ, गलत कुराको विरोध गरेका हौँ, चर्चा गर्दै माओवादीकालमा बस आगजनी गर्ने, घर जलाउने काम हिंसा नै हो, सत्यनिरुपण आयोगले पनि ती कुरा स्वीकार गरेको छ । 

त्यो असंसदीय अभिव्यक्ति नभएको चर्चा गर्दे त्यहीकारण संसद् अवरुद्ध गर्नु ठिक थिएन, माओवादीमा त्यसमा सच्चिएर आएको छ, त्यसका लागि धन्यवाद दिनैपर्छ । महासचिव पोखरेलले प्रधानमन्त्रीको १०० दिन नपुग्दै सरकार छोड्नु परेको छटपटीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति ठिक थिएन भन्नुभयो ।

संविधान संशोधनका सवालमा बोल्दै उहाँले अहिले संविधान कार्यान्वयनको एक दशकमा सबल पक्ष खोज्ने र कमजोर पक्षमा संशोधन गर्नुपर्ने आशय राख्नुभयो । महासचिव पोखरेलले विकास र स्थायित्वका लागि एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । 

उहाँले छिमेकी भारत र चीनको विकास हुनुमा क्रमशः प्रधानमन्त्री नरेन्द्र मोदी र सी जिनफिङको लगातार तीन पटकको नेतृत्व पनि मुख्य कारण हो, भन्नुभयो । त्यसैकारण ठुला दल एमाले र कांग्रेसले स्थायित्व दिन मिलेर सरकार बनाएको बताउँदै उहाँले आगामी चुनावमा जसले भए पनि एकल बहुमतको सरकार हुन जरुरी रहेको बताउनुभयो । 

“कांग्रेस र एमाले दुई वटै दलले कसैसँग चुनावी तालमेल नगरीकन एक्ला एक्लै चुनाव लड्ने भनिसकेका छौँ” महासचिव पोखरेलले भन्नुभयो, “एमालेले एकल बहुमत ल्याउने गरेर काम गरिरहेको छ, एकल बहुमत पाउँछौ ।”

अहिलेको सरकार मुलुकमा लोकतन्त्रलाई सही दिशामा लैजान, आर्थिक प्रगति गर्न, युवा पलायन रोकेर मुलुक निर्माणमा लगाउन बनेको दाबी गर्दै उहाँले अहिले आर्थिक अवस्था सुधार हुँदै गएको, उद्योगी व्यवसायी खुसी भएको, विदेशी लगानी बढेको पनि बताउनुभयो ।

महासचिव पोखरेलले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सरकार लागेकाले त्यसबारेको विधेयक संसदमा छलफलमा रहेको त्यो पारित भएपछि र पाठ्यक्रम बनाइएपछि डाक्टर पढाउने कोटा निर्धारण हुने बताउनुभयो ।

पत्रकारको एक प्रश्नमा महासचिव पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरिनु भएको, पार्टीका नीति नियमविपरित स्वतन्त्ररुपमा हिँडिरहेकाले उहाँका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नभएको बताउनुभयो ।