• ११ असोज २०८१, शुक्रबार

अनलाइनबाट नागरिकताको सिफारिस

blog

इलाम नगरपालिकामा नगरपालिका–४ जसबीरेका सेवाग्राही आशिष विकलाई अनलाइनबाटै बनाइएको नागरिकताको सिफारिस हस्तान्तरण गर्दै इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज ९ गते । इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ । इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका सबै वडा कार्यालयबाट दिइने सिफारिस अनलाइन प्रणालीबाटै थालिएको हो । 

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएका दुवै नगरपालिकाका छुट्टाछुट्टै कार्यक्रममा अनलाइन प्रणालीको थालनी गरिएको छ । अबदेखि इलाम नगरपालिकाका १२ वटा वडा र सूर्योदय नगरपालिकाका १४ वटा वडामा अनलाइनबाटै नागरिकता सिफारिसका लागि आवेदकले आवेदन दिनसक्ने भएका छन् ।

इलाम नगरपालिकाको वडा नम्बर–४ र सूर्योदय नगरपालिकाको–२ बाट अनलाइन सिफारिस दिन थालिएको हो । सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो । "सेवाग्राहीले वडामा आएर आफ्नो विवरण र आवश्यक कागजात दिनुहुन्छ हामीले त्यसलाई अनलाइन अनुसूची भरेर अन्य प्रमाणपत्रको स्क्यान गरी जिल्ला प्रशासन र गृह मन्त्रालयको समेत वेभ साइडको अनलाईनमा अपलोड गर्छौं," प्रवक्ता दुलाले भन्नुभयो, "सेवाग्राहीले आफ्नो सनाखत गर्ने व्यक्तिमात्र लिएर जिल्ला प्रशासन नागरिकता लिन जाँदा हुन्छ ।" नगरपालिकाले सबै वडा सचिवलाई अनलाईन सेवासम्बन्धी प्रशिक्षण दिएको छ । 

उता सूर्योदयमा वडा–२ बाट अनलाइनबाट नागरिकतासम्बन्धी सेवा सुरु गरिएको छ । नागरिकताका लागि अनलाइन सेवा सुरु गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले शुन्य कागजको नीति अनुसार गृहमन्त्रालयले गरेको परिपत्र अनुसार इलाममा काम थालिएको बताउनुभयो । "पहिलो कुरा कामको प्रभावकारिता बढ्ने अपेक्षा छ भने दोहोरो, किर्तै नागरिकता हुने समस्या यो सेवाले अन्त्य गर्छ भन्ने अपेक्षा छ," प्रजिअ श्रेष्ठले भन्नुभयो, "पहिलो चरणमा इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा अनलाइन सेवा सुरु गरिएको छ ।"