• ११ असोज २०८१, शुक्रबार

सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर

blog

शालिग्राम नेपाल 

चितवन, असोज ९ गते । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँचतले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।

बुधबार विहान भरतपुर महानगरपालिकाको डोजरले भवन भत्काएको महानगरपालिकाका इन्जिनियर सूर्य लामाले जानकारी दिनुभयो ।  अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा नहटाएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित हुनुभएको थियो । 

तीन धुरमा निर्माण गरिएको भवनले पूर्व–पश्चिम राजमार्गको २० प्रतिशत जग्गा मिचेको छ । मापदण्डविपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगरप्रमुख रेनु दाहालले बताउनुभयो । 

वर्षाैदेखि सरकारी जग्गा हडपेर ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने प्रचलनलाई तोड्न लागेको उहाँले बताउनुभयो । महानगरले पुङ्गी खोला सौन्दर्यकरणको काम गरिरहेको छ । यो खोलाको जग्गा मिचेर निर्माण गरिएको अन्य भवनसमेत भत्काउने तयारीमा महानगर  छ ।