• ११ असोज २०८१, शुक्रबार

तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण

blog

स्वास्थ्य शिविरमा विद्यार्थीको आँखा परीक्षण गर्दै चिकित्सक । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ९ गते । बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

लायन्स क्लब अफ नेपालगन्ज बाँकेले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र बिरामी भए उपचार गर्नका लागि सहयोग गर्न विद्यालयमा कान आँखा जाँच शिविर राखेर ३३५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य गरेको विद्यालयकी शिक्षिका माधवी शाहले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न ठाउँमा पुगेर स्वास्थ्य उपचारका लागि सहयोगी भूमिका खेल्दै आएको लायन्स क्लब अफ नेपालगन्जले गरेको शिविरमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको कान र आँखा चेकजाँच गरी निःशुल्क औषधी दिएको र केही जटिल समस्या देखिएकाहरुलाई सम्बन्धित अस्पतालमा रिफर गरिएको छ ।

लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष प्रिन्सु जैनले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको स्वास्थ्य अवस्था बुझ्न र समस्या देखिए उपचारमा सहयोग गर्नका लागि स्वास्थ्य परीक्षण गर्ने कार्य गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य चेकजाँच गरिएका विद्यार्थीहरूमध्ये दुई जना आँखाका बिरामीलाई नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा र कानको समस्या देखिएका २२ जनालाई ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र फुल्टेक्रामा रिफर गरिएको बताउनुभयो । अन्यलाई शिविरमै उपचार गरेर औषधी वितरण गरिएको थियो ।  

सो शिविरमा नेपालगन्जस्थित भिजन आँखा अस्पताल र ब्रिनोज कान उपचार केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीबाट विद्यार्थीको कान र आँखा परीक्षण गरिएको थियो । सो स्वास्थ्य शिविरमा लायन्स क्लबका वरिष्ठ अग्रजहरु मुकुन्द ढकाल, ज्ञानेन्द्र श्रेष्ठ, शशी स्वाँर, कृष्ण प्रसाद श्रेष्ठ, गुन्जन सोनिया, प्रकाश लामिछाने, जितेन्द्र जोशी, ऋदिकरण सिंह तथा बिद्यालयका शिक्षक र विद्यार्थीहरुको उल्लेख्य सङ्ख्यामा सहभागिता रहेको थियो ।