• ११ असोज २०८१, शुक्रबार

दसैँतिहारमा खाद्यान्न अभाव नहुने

blog

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा । तस्बिर : रामबहादुर विक

मार्तडी समाचारदाता

मार्तडी, असोज ९ गते । बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने भएको हो । कम्पनीले आइतबारबाट सहुलियत छुट मूल्यमा चामल बिक्रीवितरण गर्न सुरु गरेको छ । जिल्लामा खाद्यको माग भए अनुसार करिब चार हजार क्विन्टल मार्तडी शाखामा खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख उमेश भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी शाखामा पनि दुई हजार तीन सय मौज्दात खाद्य रहेकाले दसैँतिहारमा खाद्यान्न कमी नहुने बताउनुभयो । सधैँका वर्षमा खाद्य अभावका कारण जिल्लामा कतिपय सर्वसाधारणले महँगो चामल किन्ने अवस्था नहुँदा दसैँ मनाउन नपाउने जनगुनासो हुने गथ्र्यो । “बर्खामा बाटो बन्द हुने र ढुवानी कार्यमा समस्या हुने गरेका कारण विगतका वर्षमा खाद्यान्नको चरम अभाव हुने गरेको थियो तर यो वर्ष भने चामलको अभाव हुँदैन,” उहाँले भन्नुभयो । समयमै ठेकेदारले ढुवानी नगर्ने र वर्षायाममा ढुवानी गर्ने तर बाटो बन्दका कारण कम्पनीमा चामल नआउने गरेकाले विगतमा खाद्य अभाव हुँदै आएको थियो । 

यस वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी शाखामा चार हजार क्विन्टलमध्ये अरुवा मोटो चामल दुई हजार १०६ क्विन्टल, अरुवा सोना चामल एक हजार ६८५ क्विन्टल र जिरा मसिनो चामल २२५ क्विन्टल मौज्दात छ ।” कोल्टी डिपो कार्यालयमा दुई हजार तीन सय क्विन्टल चामलमध्ये अरुवा मोटो चामल एक हजार ९६९.५० क्विन्टल, सोना मन्सुली २०२ क्विन्टल र जिरा मसिनो १५१.५० क्विन्टल मौज्दात छ । 

जिल्लाको पूर्वीउत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा भने खाद्यान्न अभाव छ । गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखासँगको समन्वयमा जेठ महिनामा खाद्यान्न वितरण गरेको भए पनि सो अस्थायी बिक्री केन्द्रका लागि टेन्डर प्रक्रिया नहुँदा खाद्य अभाव भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

हिमाली गाउँपालिकाको कवाडीमा करिब सात महिनादेखि खाद्यान्न अभाव छ । अस्थायी बिक्री केन्द्रका लागि अहिले टेन्डर भएर ठेकेदारले खाद्यान्न ढुवानीका लागि अनुमति पाएको र ढुवानी प्रक्रियामा रहेको उहाँले बताउनुभयो । कवाडीमा खाद्यान्न ढुवानी भएपछि सो पालिकाको बिच्छ्या र रुगिनका स्थानीय लाभान्वित हुने भएका छन् ।