• ११ असोज २०८१, शुक्रबार

खादा मालामा नअल्मलिन निर्देशन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज ९ गते  । बागमती प्रदेशका मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मन्त्रीहरूलाई खादा मालामा नअल्मलिन निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनको प्रदेश सरकार गठनको दुई महिना पूरा हुँदै गर्दा सरकारको कामले गति लिन नसकिरहेको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार भएको सरकारको हालसम्मको प्रगति र आगामी योजनाबारेको छलफलका व्रmममा मुख्यमन्त्री लामाले यस्तो निर्देशन दिनुभएको हो । 

मन्त्रीहरू अझै स्वागत, सम्मान र खादा मालामा अल्मलिएको र मन्त्रालयको काममा ध्यान नजाँदा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷८२ का योजना र कार्यव्रmम कार्यान्वयनका लागि आवश्यक कार्यविधि, निर्देशिकालगायत बन्न नसक्दा सरकारका योजना र कार्यव्रmम चालु आवको दुई महिना पूरा भइसक्दासमेत कार्यान्वयनमा आउन सकेको छैन । 

छलफलमा मन्त्रीहरूलाई मन्त्रालयमा बसेर आफ्नो मन्त्रालय अन्तर्गतका कार्यव्रmम र योजनाहरू कार्यान्वयनमा केन्द्रित हुन मुख्यमन्त्री लामाले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विनोद शाहले जानकारी दिनुभयो । 

मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरूलाई महिनामा दुई पटक मन्त्रालयको प्रगति विवरणबारे मुख्यमन्त्रीलाई जानकारी गराउन, खादा र मालामा सीमित नबन्न र प्रदेश राजधानीबाहिर जानुपर्दा जानकारी गराएर मात्र जानसमेत सुझाउनुभएको थियो । मुख्यमन्त्री लामाले मन्त्रीहरूलाई निर्देशन दिनुभयो, “चालु आवको कार्यव्रmम र योजनामा केन्द्रित बन्नुहोस्, नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्नुहोस् ।” प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सरकारका गतिविधि, मन्त्रीहरूबाट भइरहेको कार्यसम्पादन, हालसम्मको कामको प्रगति, आगामी कार्ययोजनाबारे छलफल भएको जानकारी दिनुभयो । छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले गर्ने राम्रा कामको राप्रपाले समर्थन गर्ने बताउँदै दुई ठुला दलको सहभागितामा सरकार बनेकाले काम गर्ने अवसर रहेको बताउनुभयो । 

मन्त्रीहरू मन्त्रालयमा नियमित नबस्ने गरेको गुनासो सार्वजनिक हुँदै आएको छ । सोमबारको प्रदेश सभा बैठकमा समेत सत्तारूढ दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्सालले मन्त्रीहरू मन्त्रालयमा नबसेकोप्रति लक्षित गर्दै मन्त्रीहरू मन्त्रालयमा बसेनन् भन्ने आवाज हामीले सुन्न नपरोस् भन्नुभएको थियो । उहाँले चालु आवमा भएका योजना र बजेट शतप्रतिशत खर्च गर्न मन्त्रीहरूलाई सव्रिmय रहन आग्रह गर्नुभयो । 

छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेस संसदीय दलका मुख्य सचेतकको उपस्थिति थियो ।