• ११ असोज २०८१, शुक्रबार

सुपथ मूल्य पसल सञ्चालन

blog

धनगढी समाचारदाता

धनगढी, असोज ९ गते । कैलालीको धनगढीमा चाडपर्वलक्षित सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले मुख्य बजारस्थित बिक्री कक्ष र मोहनपुर गोदाममा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका धनगढी प्रमुख एन्जिला बस्नेतले बताउनुभयो । उहाँले माघ २ गतेसम्म पसल सुपथ मूल्य पसल सञ्चालनमा रहने उल्लेख गर्नुभयो । 

कम्पनीले अरुवा मोटा चामल, स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल बिक्री गरिरहेको छ । सबै प्रकारका चामलमा प्रतिकेजी पाँच रुपियाँ छुट दिइएको छ । छुटपछि चामलको मूल्य प्रतिकेजी क्रमशः ५८, ८९, ६० रुपियाँ कायम भएको जनाइएको छ । पर्वोत्सव सहुलियत पसलबाट चाडपर्व अवधिभरि एक हजार क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको प्रमुख बस्नेतले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।