• ११ असोज २०८१, शुक्रबार

आफ्नै जग्गाबारे बेखबर कार्यालय

blog

धनकुटा नगरपालिका वडा नम्बर १, हिलेनजिकै रहेको पर्यटनको जग्गा तथा सोही जग्गामा निर्माण भएको ‘भ्यु प्वाइन्ट’ ।

कविराज घिमिरे

हिले, असोज ९ गते । धनकुटाको हिले बजारनजिक टिमुरेमा पर्यटन विभागको १३२ रोपनी जग्गा छ । धनकुटा नगरपालिका–१ मा रहेको पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सो जग्गा प्रयोग नहुँदा बेवारिसे बनेको छ । २०३५ सालमा चन्द्रबहादुर कार्कीको नाममा रहेको १३२ रोपनी जग्गा पर्यटन विभाग त्रिपुरेश्वरको नाममा सारिएको नापी कार्यालय धनकुटाको कागजातमा देखिन्छ ।

अहिले सो जग्गाबारे पर्यटन कार्यालय नै अनभिज्ञ छ । सो स्थानमा ‘भ्यु प्वाइन्ट’ र फुटपाथ निर्माण गर्न सहयोग गरेको पर्यटन कार्यालय काँकडभिट्टा पनि सो जग्गाको बारेमा अनभिज्ञता प्रकट गर्छ । पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा आफूहरूसंँग सो जग्गाको बारेमा कुनै अभिलेख नै नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिले धरानको कार्यक्षेत्र भएकाले सो जग्गाको बारेमा कि धरान कार्यालयलाई थाहा हुनु पर्छ कि विभागलाई थाहा हुनुपर्ने हो ।” उहाँले प्रदेश मातहत रहेकाले आफ्नो कार्य क्षेत्रमा यो जग्गा नरहेको पनि बताउनुभयो । 

तर पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा २०७४ सालमा ११ लाख रुपियाँ खर्चेर एक भ्यु प्वाइन्ट तथा भ्यु प्वाइन्टसम्म पुग्ने फुटपाथ र सिँढी निर्माण भएको छ । पहिले कार्यालय केन्द्र मातहत हुँदा केन्द्रको निर्देशनमा कार्यालयले निर्माण गरेको हुन सक्ने उहाँको भनाइ छ । 

धरानका सूचना अधिकारी प्रदीपकुमार श्रेष्ठले पर्यटन कार्यालय धरान अन्तर्गत सो जग्गा रहेकाबारे आफूहरूलाई कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “योबारेमा काँकडभिट्टाका वा केन्द्रलाई थाहा हुन सक्छ ।”

तर पर्यटन विभागका निर्देशक राकेश गुरुङले पनि जग्गाको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई सो जग्गाका बारेमा कुनै जानकारी छैन । रहेछ भने अब बुझ्ने कोसिस गर्छौं ।”

स्थानीयको चासो 

अहिले सो जग्गा जङ्गलले भरिएको छ । जङ्गलको बिचबाटै केही बाटा निर्माण गरिएको छ । एक ब्याडमिन्टन हल निर्माण भएको छ । जग्गाको पश्चिमतर्फको सिमानामा पर्यटन कार्यालय काँकडभिट्टाकाको सहयोगमा २०७४ सालमा ११ लाख रुपियाँ खर्चेर एक ‘भ्यु प्वाइन्ट’ तथा भ्यु प्वाइन्टसम्म पुग्ने फुटपाथ र सिँढी निर्माण गरिएको छ । २०५० सालसम्म सो स्थानमा जग्गाको हेरचाह गर्न पाले बस्ने गरेको तर त्योपछि कोही नआएको स्थानीय लालचन्द्र गोङ्वा बताउनुहुन्छ । अहिले पाले बस्ने घरसमेत भत्किएको छ । जग्गा प्रयोगमा ल्याउन पटक पटक माग गरिए पनि सुनुवाइ नभएको गोङ्वाको भनाइ छ । 

उक्त जग्गा अधिग्रहणपछि कुनै पनि पूर्वाधारको काम नभएपछि स्थानीयले पटक पटक जग्गा प्रयोगमा ल्याउन माग गर्दै आएका छन् । हिलेका होटल व्यवसायी श्रीराम रायमाझी आफूहरूले सानैदेखि जग्गा यस्तै बेवारिसे देखेको बताउनु हुन्छ । उहाँ पर्यटकीय दृष्टिकोणले राम्रो ठाउँमा भएको जग्गा प्रयोग हुन सके जग्गा संरक्षण हुनुका साथै हिलेमा पर्यटकीय गतिविधि बढ्ने बताउनुहुन्छ । हिलेका होटेल तथा पर्यटन व्यवसायीले मन्त्रालयलाई उक्त जग्गाबारे जानकारी गराएको तथा पर्यटन पूर्वाधारका लागि ध्यानाकर्षण गराएको हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताउनुभयो । आफ्नो संस्थाले सो स्थानमा बालउद्यानसहितको पर्यटकीय स्थल निर्माणका लागि डिपिआरसमेत तयारी गरी धनकुटा नगरपालिका वडा कार्यालय, पर्यटन कार्यालय तथा मन्त्रालयलाई बुझाए पनि कुनै काम अगाडि नबढेको विष्टको भनाइ छ ।