• ११ असोज २०८१, शुक्रबार

भेरी अस्पतालमा जटिल शल्यक्रिया

blog

भेरी अस्पतालमा जटिल शल्यक्रिया गर्दै चिकित्सकको टोली । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज ९ गते । नेपालगन्जस्थित भेरी अस्पतालमा एक वर्षमा दुई हजार आठ सयभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ ।  

भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा गरिएका शल्यक्रियामध्ये दुई हजार ८६० वटा जटिल शल्यक्रिया गरिएका थिए । त्यसै गरी सो अस्पतालमा ३४५ वटा मध्यम खालका र ५८३ वटा सामान्य खालका शल्यक्रिया गरिएको पनि डा. थापाले बताउनुभयो । 

सबैभन्दा धेरै प्रसूति तथा स्त्रीरोग विभागमा एक हजार ७५६ वटा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये एक हजार ६७६ वटा जटिल खालका शल्यक्रिया गरिएका थिए । त्यसै गरी मध्यम खालका २३ र सामान्य खालका ५७ वटा शल्यक्रिया गरिएका थिए । सोही प्रकारले अस्पतालको सर्जरी विभाग अन्तर्गत ९८३ वटा जनरल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । तीमध्ये ४४८ वटा जटिल, १४५ मध्यम र ३९० वटा सामान्य खालका शल्यक्रिया गरिएका थिए ।  

हाडजोर्नी विभागतर्फ ५६५ वटा शल्यक्रिया भएको अर्थोपेडिक सर्जनसमेत रहेका अस्पताल प्रमुख डा. थापाले बताउनुभयो । उहाँका अनुसार ४२२ वटा जटिल, ९७ वटा मध्यम र ४६ वटा सामान्य खालका शल्यक्रिया भएका थिए । ५५ वटा अर्थोस्कोपी गरिएको पनि उहाँले बताउनुभयो । 

यसै गरी नाक, कान र घाँटी विभाग अन्तर्गत १२५ जटिल, १६ मध्यम र ९० सामान्य गरी २३१ वटा शल्यक्रिया भएका थिए । हाइड्रोसिलका ६४, ग्यास्ट्रो सर्जरीका ५४, स्पाइनल केस (न्युरो) चार र स्पाइनल केस (अर्थो) का ४० वटा शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

भेरी अस्पतालमा गत आव २०८०/८१ मा तीन हजार ७८८ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अघिल्लो आव २०७९/८० मा भने सो अस्पतालमा तीन हजार २३२ वटा शल्यक्रिया भएका थिए । अस्पतालमा शल्यक्रिया सेवा लिनेको चाप रहेकाले नयाँ र अत्याधुनिक अपरेसन थिएटर सञ्चालन गरिएको जनाउँदै अस्पताल प्रमुख डा. थापाले अब क्रमशः चाप घट्दै जाने विश्वास गरिएको बताउनुभयो ।