• ११ असोज २०८१, शुक्रबार

अहिलेको सरकार निजी क्षेत्रका लागि अवसर हो : मन्त्री भण्डारी

blog

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, असोज ९ गते ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु निजी क्षेत्रका लागि सुनौलो अवसर भएको बताउनुभएको छ ।

मङ्गलबार साँझ कैलाली उद्योग वाणिज्य संघले उहाँको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

सो अवसरमा उहाँले भन्नुभयो, ‘‘यस्तो अवस्था फेरि नआउन सक्छ । अहिले सबै खालका जटिलता फुकाउन सजिलो छ । त्यसैले उद्योगी व्यवसायीले यस्तो अवस्थामा केही गरेर देखाउनुपर्छ ।’’

‘‘मौद्रिक नीतिको नीजि क्षेत्रले स्वागत गरेको छ सरकारका प्राथमिकता उद्योग, पर्यटन, कृषि, विद्युत्तिकरण र टेक्नोलोजी हो भन्ने पनि स्पष्ट छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेको बलियो सरकार भएको बेला लगानी बढाउनुपर्छ । उद्योग, व्यवसाय फस्टाए सरकार पनि बलियो भएर स्वाधिन अर्थतन्त्र हुन्छ भन्ने हामीले बुझेका छौं ।’’

उहाँले कोरोनाले नीजि क्षेत्र सबैभन्दा बढी प्रभावित भयो, उद्योग र उद्योगीलाई प्रोत्साहन हुने गरेर  सरकार अघि बढ्ने जानकारी दिनुभयो । सरकार आफैँ उद्योग चलाउँदैन नियम, कानुन सहज बनाई दिने हो, केही कठिनाइ भए नीजि क्षेत्रले मन्त्री भण्डारीको भनाइ छ ।

आपूर्तिलाई सहज बनाउन सरकार लागेको बताउनुहुँदै उहाँले आउदै गरेका चाडपर्वमा चिनीको मूल्य दुई अङ्क भन्दामाथि नजाने दाबी गर्नुभयो । उहाँले सरकारले आउन थालेका चाडपर्वका लागि चिनीलगायतका उपभोग्य सामग्रीको अभाव हुन नदिने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले दैजी-छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाइने छ, दोधारा चाँदनीमा सुख्खा बन्दरगाहको छिट्टै उद्घाटन हुने बताउनुहुँदै यसले सुदूरपश्चिम क्षेत्रको विकासमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने काम पनि सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै मन्त्री भण्डारीले सोसम्बन्धी विधेयक संसदको समितिमा छलफलमा रहेको पनि उल्लेख गर्नुभयो ।

स्वागत कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा व्यवसायी विनोदकुमार साह, केशव पाण्डेय, शिवकुमार फुलारा, धनबहादुर कोली, सिद्धराज पनेरु, ओम विष्ट लगायतले उद्योग व्यवसाय सञ्चालनका लागि विभिन्न सुविधा दिनुपर्ने माग तथा सुझाव व्यक्त गर्नु भएको थियो ।