• ११ असोज २०८१, शुक्रबार

बैङ्कहरू बलियो हुँदा सङ्कट प्रतिरक्षा गर्न सम्भव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । भारतीय केन्द्रीय बैङ्क (आरबिआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैङ्कहरू बलियो हुँदै गएका कारण आर्थिक सङ्कटको प्रतिरक्षा गर्न सम्भव भएको बताउनुभएको छ ।

प्रथम गभर्नर स्व. हिमालयशमशेर जबराको स्मृतिमा मङ्गलबार आयोजित ‘२१ औँ शताब्दीको केन्द्रीय बैङ्किङ परिवर्तनशील प्याराडाइम’ विषयक कार्यक्रममा उहाँले कोभिड १९ ले शिथिल बनाएको विश्व अर्थतन्त्र मात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय सङ्कटलगायत आर्थिक सङ्कटको सजिलै प्रतिरक्षा गर्न बैङ्क सफल भएको बताउनुभयो ।

समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबिच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले केन्द्रीय बैङ्कहरूले त्यसतर्फ पनि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनले विभिन्न चुनौती ल्याइरहेकाले त्यसको सामनाका लागि सरकारका अन्य निकायसँग समन्वय गर्नुपर्ने बताउँदै उहाँल कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) ले ठुलो सम्भावना बोकेको बताउनुभयो । यसले डाटा गोपनीयता, एल्गोरिदम र भेदभाव, साइबर सुरक्षा र नैतिक मुद्दा जस्ता चुनौती पनि उत्पन्न गर्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय बैङ्कहरूले आफूलाई समय अनुसार पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भविष्यका जोखिमको अनुमान गर्नु पर्छ र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न उपयुक्त सावधानी अपनाउनुपर्ने बताउनुभयो । 

केन्द्रीय बैङ्कहरूले पनि आफ्नो भूमिकालाई समय अनुसार परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको बताउँदै भारतीय गभर्नर दासले भन्नुभयो, “यसरी नै केन्द्रीय बैङ्कहरूले २१ औँ शताब्दीका चुनौतीको सामना गर्दै अर्थतन्त्र र वित्तीय प्रणालीको स्थिरता कायम राख्न सक्षम हुने छन् ।’’

कार्यक्रममा राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले प्रथम गभर्नर स्व. हिमालयशमशेर जबरा योगदान र भूमिका बारेमा चर्चा गर्नुभएको थियो । नेपालका प्रथम गभर्नर हिमालयशमशेर जबराको २०७९ माघ २२ गते निधन भएको थियो । उहाँ २०१३ साल वैशाख १४ गते नेपालको पहिलो गभर्नर नियुक्त हुनुभएको थियो । उहाँको पालामा निर्धारण गरिएको भारतीय रुपियाँ (भारु) को विनिमय दर एक सयको १६० रुपियाँ अहिले पनि कायम रहेको छ ।

राष्ट्र बैङ्कले पहिलो पटक आयोजना गरेको स्मिृति कार्यक्रममा आरबिआईका गभर्नर दास प्रमुख अतिथिका रूपमा नेपाल आउनुभएको हो । यसका लागि राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दासलाई विशेष निमन्त्रणा गर्नुभएको थियो ।