• ११ असोज २०८१, शुक्रबार

सहकारी रकम अनियमितता प्रकरण : छविलाल जोशी पक्राउ

blog

काठमाडौँ, असोज ७ गते । प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले जोशीलाई आइतबार काठमाडौँको शङ्खमूलबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई पोखरा लगिएको छ । 

संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा तत्कालीन गोर्खा मिडिया नेटर्वकका अध्यक्ष गितेन्द्रबहादुर (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र गोरखा मिडियाकै तत्कालीन सञ्चालक छाविलाल जोशीलगायतलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीको सिफारिसमा परेका जोशी देश छाडेर भाग्न लागेको सुराकी पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले जरुरी पक्राउ पुर्जीमार्फत पक्राउ गरेको हो । 

गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न  गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रीपरिषद्को निर्देशनबमोजिम गृहमन्त्री रमेश लेखकले छानबिन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आइतबार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको थियो ।  

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिनामा संलग्नता देखिएपछि थप अनुसन्धान गर्नुपर्ने देखिएपछि जोशीको नियन्त्रणमा लिई आइतबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

सहकारीको रकम हिनामिनाबारे प्रहरीले यसअघि सञ्चालक जोशीको निवासमा छापामारी केही महìवपूर्ण कागजपत्र तथा विद्युतीय उपकरण बरामद गरेको थियो । संसदीय विशेष छानबिन समितिले जोशीसँग बयान लिएको थियो । गोर्खा मिडियाले ग्यालेक्सी टोलिभिजन सञ्चालन गर्दा जोशीको नाममा ५० प्रतिशत सेयर स्वामित्व रहेको पाइएको छ । 

जोशीलगायतका गोर्खा मिडिया सञ्चालकहरूले विभिन्न सहकारीमा सर्वसाधारणहरूले बचत गरेको ८० करोड रुपियाँभन्दा बढी रकम गैरकानुनी रूपमा भित्र्याएर हिनामिना गरेको खुलेको छ । जोशीमाथि सहकारीको बचत अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गरेको थियो । 

लामिछानेलाई पक्राउको डर 

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेसँगै सोही मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेले पक्राउ छल्न राजनीतिक अस्त्र प्रयोग गर्नुभएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका प्रतिनिधि सभा सदस्य लामिछानेले प्रहरी आफूलाई पक्राउ गर्न सक्ने भन्दै कार्यकर्तालाई आफूसहित पार्टी कार्यालय घेर्न आइतबार साँझ सर्कुलर गरेको पाइएको छ । आइतबार साँझ पार्टीको केन्द्रीय कार्यालयमा नेता कार्यकर्ता उपस्थित भएका छन् । लामिछानेसहितका नेता आइतबार साँझ पार्टी कार्यालय वनस्थलीमा बसेर रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेमार्फत गरिएको सर्कुलरमा उपत्यकामा रहेका पार्टी सदस्यहरूलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरिएको थियो । सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जिबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीमाथि सहकारीको रकम हिनामिनामा संलग्न भएको भन्दै कारबाहीको सिफारिस गरेको छ ।

प्रहरीले जोशी पक्राउ परे पनि रवि लामिछाने पक्राउ पर्न लागेको हल्ला निराधार रहेको बताएको छ । प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले लामिछानेलाई पक्राउ गर्ने तयारी नै नभएको बताउनुभयो । तर रास्वपा पार्टी उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पार्टी सभापति पक्राउ पर्न लागेको हल्लाले कार्यकर्ता स्वस्फुर्त केन्द्रीय कार्यालयमा उपस्थित भएको दाबी गर्नुभयो । अर्यालले केही सामाजिक सञ्जालमा आएको हल्लापछि बागमती प्रदेश सभापति अच्युत्तम लामिछानेले सन्देश पठाएको स्वीकार गर्दै त्यो सन्देश त्यो पार्टीको आधिकारिक नभएको दाबी गर्नुभयो ।