• ११ असोज २०८१, शुक्रबार

कर्णाली नदीको महत्व बुझाउन चित्रकला

blog

आइतबार टिकापुरमा आयोजित प्रतियोगितामा चित्र कोर्दै बिद्यालयका विद्यार्थीहरु । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असोज ६ गते । बिश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।

कक्षा ८ देखि १० कक्षासम्मका छात्रछात्राले प्रतियोगितामा भाग लिएका थिए । ुहाम्रो प्रण, कर्णाली नदीको संरक्षण भन्ने भाव विद्यार्थीले चित्रकला कोरेका  थिए । 

डल्फिन संरक्षण केन्द्र, सोनाहा विकास समाज बर्दिया र रेडियन मन्टेश्वरी बिद्यालयको आयोजनामा चित्रकला प्रतियोगिता भएको हो । कर्णाली नदी क्षेत्रमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा सवलीकरण परियोजना अन्तर्गत समुदायस्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन हुँदैआएको छ । 

उक्त परियोजना बेलायत सरकार अन्तर्गत डार्विन इनिसियटिभ सहयोगमा सन् २०२३ देखि सञ्चालनमा रहेको कार्यक्रम सहायक आशिष कपालीले बताउनुभयो ।  

प्रतियोगितामा रेडियन्ट मन्टेश्वरी बिद्यालय टिकापुरका रितु रावल प्रथम, शिशिर मल्ल ताम्राकार दोस्रो, खड्ग माध्यमिक विद्यालयका छात्रा दिम्पल बडायक तेस्रो,   चौथो स्थानमा प्रकृति थापामगर र पाँचौ स्थानमा सुमन चौधरीको चित्रकला छनौट भएको छ ।

प्रतियोगिताको निर्णायकमा कलाकार रमेश कडायत, चराविद हिरुलाल डंगौरा, प्राणीशास्त्री प्राध्यापक लक्ष्मण उपाध्याय, सोनाहा विकास समाजका प्रतिनिधि रोबिन चौधरी रहनु भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउन सफल प्रतियोगिलाई प्रमुख अतिथि टिकापुरका नगरप्रमुख रामलाल चौधरीले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

कार्यक्रममा नदीको महत्व बुझाउन विद्यालयस्तरबाट सचेतनाका लागि  प्रतियोगिता आयोजना गरिएको डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले बताउनुभयो ।  नदीको महत्व सबैलाई बुझाउन बिद्यार्थीको चित्रकलामा भावना चित्रण भएको जनाइएको छ ।