• ११ असोज २०८१, शुक्रबार

एसिएन कराते च्याम्पियनसिपमा एरिकालाई रजत

blog

एसिएन कराते च्याम्पियनसिपको रजत पदकसहित एरिका गुरुङ । तस्बिर सौजन्य : मन्देकाजी श्रेष्ठ

काठमाडौँ, असोज ६ गते । नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । 

आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहको फाइनमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित हुनुभयो । एसियाली सिनियर करातेमा एरिकाले जितेको यो पहिलो पदक हो । यसअघिका सबै संस्करणमा नेपाल पदकविहीन बनेको थियो ।


सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउनुभएको थियो । क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबिचको खेल १–१ को बराबरीमा सकिएपनि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी हुनुभएको थियो । 

उहाँले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले हराउनुभएको थियो । स्वर्णको लागि भएको फाइनलमा भिडन्तमा भने एरिका जम्न सक्नुभएन । यस प्रतियोगितामा नेपालबाट एरिकासहित ११ खेलाडीले भाग लिएका छन् ।

एरिकाले एक वर्षअघि चीनको हाङझावमै भएको एसियाली खेलकुद (एसियाड) मा नेपाललाई रजत पदक दिलाउनुभएको थियो । एसियाड करातेमा रजत जित्ने एरिका पहिलो खेलाडीसमेत हुनुहुन्छ ।