• ११ असोज २०८१, शुक्रबार

हवाई उडानको चाप बढ्दै, कस्तो छ सुरक्षा व्यवस्था

blog

काठमाडौँ, असोज ८ गते । चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ । चाडपर्वलक्षित हवाई उडानको तयारी एवम् यसको सुरक्षा व्यवस्थाका सन्दर्भमा वायुसेवा सञ्चालक सङ्घ, नेपालका प्रवक्ता मुरलीधर जोशी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक जगन्नाथ निरौलासँग गोरखापत्र अनलाइनका लागि गरिएको संवाद :

सुरक्षा मापदण्ड घटीबढी भन्ने हुँदैन : मुरलीधर जोशी–प्रवक्ता, नेपाल वायुसेवा सञ्चालक सङ्घ, नेपाल

दुई, तीन महिना अगाडिदेखि टिकट काट्न पाइने व्यवस्था छ । सबै एयरलायन्सहरुको अनलाइन सिस्टम छ । अहिले ट्राफिक चाहिँ बढ्दो छ । ट्राफिक भन्नाले पेसेन्जरको इन्क्वाइरी बढेको छ ।

हन्ड्रेड पर्सेन्ट अकुपेन्सी नै हुन्छ होला दुई, चार दिन । यो दसैँ सँगसँगै पर्यटनको सिजन पनि भएकाले हिमाली भेगमा पर्यटन गर्न जाने मान्छेहरुको पनि राम्रै बुकिङ छ । यहाँबाट धनगढी, भद्रपुर, विराटनगर जाने नेपालीहरु  हुनुहुन्छ ।

हवाई सुरक्षामा हामीले अपनाउनुपर्ने मापदण्डहरु हामीले अपनाइरहेकै छौं । मौसम सुधार हुँदै गइरहेको छ, झन् राम्रो हुँदै गइरहेको छ । कुनै बेला दुर्घटना पनि भएको छ, यसले दुःख पनि परेको छ । तर मापदण्ड कहिले बढी, कहिले घटी भन्ने हुँदैन । जहिल्यै त्यही स्ट्याण्डर्डमै हुन्छ । विदेशबाट विज्ञहरु ल्याएर टेक्निकल, नन्–टेक्निकल तालिमहरु सञ्चालन गरिरहेका हुन्छौं । कम्पनीपिच्छे आ–आफ्नो सेफ्टी डिपार्टमेन्ट छ ।

यात्रुको सेवामा कुनै कमी आउन दिँदैनौं : रिन्जी शेर्पा–प्रवक्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थल त पहिलेदेखि नियमितरुपमा चलिरहेको छ । नियमित सेवा प्रवाह भइरहन्छ । चाडपर्वसँगै विस्तारै चाप बढ्दै जाला । दसैँ, तिहारमा उडान बढ्दै गयो भने सेवा, सुविधा चुस्त–दुरुस्त राख्ने काम हुन्छ । यो हामीले विगतदेखि नै ह्याण्डल गर्दै आएको हो ।

चाडपर्वलाई विचार गरेर सबै स्ट्याण्डबाइ राख्ने । यात्रुहरुको सेवा, सुविधामा कुनै कमी आउन नदिने भनेर निरन्तर रुपमा बैठक, छलफल भइरहेको छ ।

अब स्वाभाविकरुपमा उडानहरु बढ्दै जान्छ । उडानहरु र यात्रुको चाप बढ्दै गइसकेपछि त्यही अनुसारको सुविधा इन्ट्याक् राख्ने काम हाम्रो तर्फबाट हुन्छ ।

हाम्रो भनाइ के छ भने, यहाँहरुको यात्रा गर्ने योजना छ भने अहिलेदेखि टिकट बुक गर्नुप र्‍य ाे । कुनै ठाउँमा दश वटा उडान राखेको छ, त्यो उडानभित्र यात्रुले टिकट पाउन सकेनन् भने ११ औं उडान त राख्ने अवस्था आउँदैन । त्यही अनुसार यात्रुले पनि आफ्नो पाइक पर्ने ठाउँबाट टिकट बुक गर्नुप र्‍य ाे । अहिले अनलाइन, टेलिफोन विभिन्न माध्यमबाट टिकट बुक गर्न सकिन्छ ।

हवाइ टिकटमा प्राधिकरणले नियमन गर्छ : जगन्नाथ निरौला–महाप्रबन्धक, नागरिक उड्डयन प्राधिकरण

अब, समर सिजनको भन्दा उडानहरु बढ्छन् । नेपालीको चाडवाड आउन लाग्यो, पर्यटनको सिजन पनि सुरु भयो । हामी ती सबैलाई ह्याण्डल गर्न सक्छौं ।

सुरक्षा व्यवस्था सधैँभरि एकनास रहन्छ । तराका विमानस्थलहरुमा रात्रिकालीन उडानको सेवा सुविधा छ । तराइका जस्तै, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, धनगढीमा रात्रिकालीन सुविधा छ । ती क्षेत्रमा राति १२ बजे अबेरसम्म पनि हामी सेवा दिन सक्छौं । अरु दुर्गम क्षेत्रको विमानस्थलमा दिउँसोसम्म, सूर्यास्तसम्म मात्रै उडान हुन्छ ।

विदेशीहरुको हवाई टिकट नेपाल सरकारले तोक्न सक्दैन । विदेशीहरुको एयरलायन्सको आफ्नै नियम अनुसार भाडा निर्धारण हुन्छ । आन्तरिकको हकमा नेपाल सरकारले तय गर्ने हो । हवाई भाडामा न्यूनतमदेखि अधिकतम रेन्ज हुन्छ । भाडाको अधिकतम रेन्जभन्दा माथि गयो भने हामी कारवाही गर्छौं, प्राधिकरणले कारवाही गर्छ ।

नेपालको मौसम अनुमान गर्न नसकिने खालको छ । जस्तो कि, एक, आधा घण्टा अगाडि एक किसिमको मौसम हुन्छ । एकछिनपछि परिवर्तन भइरहेको हुुन्छ । मौसमलाई त हामी केही गर्न सक्दैनौं र पनि दुर्गम क्षेत्रको उडानमा साना प्रकारका जहाज जाने हुँदा भिज्युअल फ्लाइट नै गर्नुपर्ने हुन्छ । अर्थात्, आँखाले हेरेर मात्र उडान गर्नसक्ने हुन्छ । आइफारमा सेफ्टी अपनाउनुस्, भीआरमा त सेफ्टी गर्नुपरिहाल्यो भनेर हामी निर्देशन गरिरहेका हुन्छौं ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।