• ४ जेठ २०८१, शुक्रबार

ल्होत्से हिमालमा पहिलो आरोहण सफल

blog

आधारशिविरबाट ल्होत्से हिमालको आरोहण तर्फ जाँदै आरोहीहरु । तस्विर सौजन्यः सेभेन समिट ट्रेक

काठमाडौं, वैशाख २९ गते । यस वसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो । 

बाटो बनाउने शेर्पाहरुको टोलीको हिमालको सफल आरोहण गरेसँगै मौसमले साथ दिए यसै साताभित्र ल्होत्से हिमालको आरोहण सम्पन्न हुने समेत शेर्पाले बताउनुभयो । चुचुरो पुग्नेहरुमा संखुवासभाका आरोही गाइड सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, सोलुखुम्बुका ङिमाटासि शेर्पा, फुर्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र फुर्वा छेतर शेर्पा रहनुभएको कम्पनीले जनाएको छ । 

सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि चुचुरोसम्मको बाटो बनाउने जिम्मा यस वर्ष सेभेन समिट ट्रेक्सले लिएको थियो । यी आरोही गाइडहरुबाटै यस बैशाख २४ गते सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण गर्नुभएको थियो । 

यस मौसममा ल्होत्से हिमाल आरोहणका लागि १३ आरोहणदलबाट ९८ जना पुरुष र २९ जना महिला गरी १२७ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । यस वसन्त मौसममा नेपालका २७ वटा अग्ला हिमालहरु आरोहणका लागि ११८ आरोहणदलबाट ९५३ जना आरोहीले आरोहण अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । 

यस वसन्त मौसममा मात्र यी हिमाल आरोहण अनुमतिबाट विभागले ४७ करोड ४६ लाख ६६ हजार ६११ रुपियाँ राजस्व सङ्कलन गरेको छ । 


Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।