• ११ असोज २०८१, शुक्रबार

हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने ‘पेजर’ विस्फोट : नौ जनाको मृत्यु, २८ सय घाइते

blog

बेरूत (लेबनान), असोज २ गते । लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू  विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् । 

उक्त विस्फोटबाट  क्षति बेहोरेको आतङ्कवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ । 

इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो ।

मङ्गलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौँ पेजिङ सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए ।

हेजबुल्लाहले घटनालगतै  इजरायललाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।

लेबनानका केही अस्पतालहरूमा हताहतको सङ्ख्या बढेको स्रोतले जनाएको छ ।

इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मङ्लबार घोषणा गरेको थियो ।

अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो । 

अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलाबारी गरेको छ ।

औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकांश लडाकु र सैन्य कर्मचारीसहित सयौँको ज्यान लिएको लिएको छ । 

हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजरहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो । रासस/एएफपी