• ११ असोज २०८१, शुक्रबार

सामुदायिक विद्यालयमा सुधार हुँदै गएको छ : मुख्यमन्त्री लामा

blog

शिक्षा दिवस २०८१ को अवसरमा हेटौँडामा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज २ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभएको छ । शिक्षा विकास निर्देशनालय हेटौँडाको आयोजनामा शिक्षा दिवस २०८१ को अवसरमा बुधबार हेटौँडामा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले पछिल्लो समय क्रमिक रूपमा सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभयो ।

“शिक्षा क्षेत्रलाई राम्रो बनाउन सके मात्रै राम्रो नागरिक उत्पादन हुन्छ, प्रदेश सरकारले प्राथमिकतामा राखेर शिक्षामा लगानी गरेको छ,” मुख्यमन्त्री लामाले भन्नुभयो । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई महत्वका साथ हेरेको बताउँदै बढी भन्दा बढी सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन समुदाय लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यालय सुधारका लागि शिक्षक–शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने जिकिर गर्दै मुख्यमन्त्री लामाले शिक्षकले जागिर खानेमात्रै नभई जिम्मेवार भएर जिम्मेवारी निभाए विद्यालयको नतिजामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक विद्यालय सुधारमा शिक्षक, अभिभावक, विद्यार्थी सबैको भूमिका उत्तिकै हुने बताउँदै अभिभावकले निजी विद्यालयमा जस्तै आफ्ना बालबच्चालाई विशेष ध्यान दिएर पढ्न पठाउने र स्याहार गरे नतिजा अझैँ सुधार हुने बताउनुभयो । उहाँले अभिभावकलाई पनि सुधार्न जरुरी रहेको तर्क दिनुभयो । निजी विद्यालयमा अध्यापन गराउने शिक्षकले कम तलबमा राम्रो नतिजा दिने र सामुदायिक विद्यालयमा धेरै तलब पाएर पनि नजिता सन्तोषजनक दिन नसकेकोप्रति शिक्षकहरूलाई उहाँले प्रतिप्रश्न गर्नुभयो । 

कार्यक्रममा बागमती प्रदेशभित्रका सर्वोत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सम्मानित गरिएको थियो । सामुदायिकतर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाण्डौको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौँको तरूण माध्यमिक विद्यालय र धम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो । 

त्यस्तै संस्थागत तर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाइरी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रीले उत्कृष्ट विद्यालयका प्रतिनिधिहरूलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।