• ११ असोज २०८१, शुक्रबार

यी हुन् राष्ट्रिय शिक्षा पुरस्कार पाउने विद्यालय

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २ गते।  यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार विद्यालयतर्फ दाङको श्री मावि तुलसीपुर सेन्टरले पाएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार विद्यालयतर्फ दाङको श्री मावि तुलसीपुर सेन्टरले प्राप्त गरेको हो।  

देशभरका सार्वजनिक (सामुदायिक) विद्यालयमध्ये २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा राष्ट्रिय स्तरमा प्रथम भएर तुलसीपुरको श्री मावि तुलसीपुर सेन्टरले पुरस्कार पाएको हो।  उक्त विद्यालयले राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ।  

त्यसैगरी त्रिपुरेश्वरको विश्वनिकेतन माध्यमिक विद्यालय दुई लाख नगद पुरस्कारसहित द्वितीय र दाङको शान्तिनरबाट जनकल्याण माध्यमिक विद्यालय एक लाख नगद पुरस्कारसहित तृतीय स्थान प्राप्त गरेको छ।  

दुई लाख नगदसहित काठमाडौँको श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले द्वितीय स्थान, बुढानीलकण्ठको बुढानीलकण्ठ स्कुल नारायणस्थानले एक लाख नगदसहित तृतीय स्थान हासिल गरेका छन्। 

त्यसैगरी निजी लगानीको विद्यालयतर्फ काठमाडौँको टोखामा रहेको फलोसेन्ट माध्यमिक विद्यालयले तीन लाख नगदसहित प्रथम स्थान हासिल गरेको छ।   

मन्त्रालयले प्रदान गर्ने यस वर्षको उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पोखरा विश्वविद्यालय अन्तर्गतको क्याम्पस श्री स्कुल अफ बिजनेस लेखनाथ, श्री जनभावना क्याम्पस, चापागाउँ, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज्, सोल्टीमोडले प्राप्त गरेका छन्।   

विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनका आधारमा विश्वविद्यालयका अङ्गिक क्याम्पसमध्ये राष्ट्रिय स्तरमा उत्कृष्ट भई तीन क्याम्पसले दुई लाख पचास हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको मन्त्रालयले जनाएको छ।  

प्राविधिक शिक्षालयतर्फ श्री नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपा, श्री तुलसीपुर पोलिटेक्निक इस्टिच्यूट, तुलसीपुर, जनता माध्यमिक विद्यालय कपिलवस्तु र श्री नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स सानोभर्‍याङ सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा  एक/एक लाख  नगद पुरस्कार सहित पुरस्कृत भएका छन्।   

समाज कल्याण शिक्षा पुरस्कार अन्तर्गत युवा क्रियाकलाप उत्थन केन्द्र मनोहरा, र आशा फाउण्डेशन ललितपुरले  सडक बालबालिका ,एचआइभी एड्स सङ्क्रमितका सन्तान, विपन्न अनाथ अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्‍याएका संस्थामध्ये स्वीकृत मापदण्डको आधारमा दुई/दुई लाख नगदसहित पुरस्कृत भएको मन्त्रालयले जनाएको छ ।