विज्ञान र प्रविधि आधुनिक समाजको मेरुदण्ड हो, जसले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विश्वका धेरै राष्ट्र, विशेष गरी एसियाली क्षेत्रका देशहरू (चीन, भारत र दक्षिण कोरिया आदि) ले आफ्नो तीव्र आर्थिक विकासलाई विज्ञान र प्रविधिमा आधारित गरेका छन् तर नेपालमा भने विज्ञान र प्रविधिको क्षेत्रलाई अपेक्षित प्राथमिकता दिइएको छैन । त्यसैले हाम्रो समग्र विकास पछि परेको देखिन्छ ।
आज असोज १ गते, राष्ट्रिय विज्ञान दिवस । यस अवसरमा विज्ञान र प्रविधिको महत्वलाई सम्झनु आवश्यक छ । यस दिन त्रिचन्द्र कलेजमा नेपाल साइन्स कलेज स्थापना गरी विज्ञान विषय पढाउन थालिएको थियो, जसलाई पछि अमृत साइन्स कलेज (अस्कल) का रूपमा चिनियो । अस्कलको स्थापना नेपाली विज्ञान शिक्षाको एक कोसेढुङ्गा हो, जसले देशमा वैज्ञानिक शिक्षा र अनुसन्धानको प्रारम्भिक जग बसाएको छ । यस कलेजले हजारौँ वैज्ञानिक, प्राविधिक र अनुसन्धानकर्ता उत्पादन गर्दै नेपाललाई विज्ञान र प्रविधिमा अगाडि बढ्न महत्वपूर्ण योगदान दिएको छ ।
राष्ट्रिय विज्ञान दिवस मनाउनुको मुख्य उद्देश्य भनेको वैज्ञानिक सोचलाई प्रोत्साहन गर्नु, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रवर्धन गर्नु र नेपाललाई प्रविधिमा आत्मनिर्भर बनाउने दिशामा जागरुकता फैलाउनु हो । विज्ञान र प्रविधिको उचित प्रयोगले गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गर्न सकिन्छ, जसले नेपाललाई समृद्धिको दिशामा लैजान सक्छ । त्यसैले विज्ञान र प्रविधिको महìवलाई अझ बढी गहिराइमा बुझ्न र यसलाई जीवनमा लागु गर्न आवश्यक छ ।
नेपालमा विज्ञान र प्रविधिको विकास क्रमिक रूपमा भएको छ । पछिल्ला वर्षमा केही सरकारी तथा गैरसरकारी संस्थाले अनुसन्धान, विकास र प्रविधिको प्रयोगमा पहल गरेका छन् तर समग्रमा, विज्ञान र प्रविधि नेपालको प्राथमिकता सूचीमा पछि परेको छ । उदाहरणका लागि नेपालमा अनुसन्धान र विकास (आर एन्ड डी) मा अत्यन्त कम बजेट छुट्याइएको छ । सन् २०१९ मा नेपालको कुल बजेटको ०.३ प्रतिशत मात्र अनुसन्धान र विकासका लागि छुट्याइएको थियो, जुन दक्षिण एसियाली देशहरूबिच सबैभन्दा कम हो । यसले नेपालका वैज्ञानिकलाई नयाँ आविष्कार गर्न र अनुसन्धानलाई अगाडि बढाउन कठिनाइ परेको छ । साथै नेपालमा विज्ञान र प्रविधिको प्रयोग गरी उद्यमशीलता प्रवर्धन गर्ने योजनामा पनि कमी देखिन्छ । नेपालमा स्टार्टअपहरू विकासशील अवस्थामा छन् तर तिनको दिगोपनाका लागि आवश्यक पर्ने प्रविधि र वित्तीय सहयोगको अभाव छ । यसको उदाहरणस्वरूप ‘इसेवा’ जस्तो डिजिटल पेमेन्ट प्रणाली भने केही हदसम्म सफल भएको छ तर त्यस्ता प्रविधिमा आधारित स्टार्टअपलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक पर्ने सहयोग अझै अपुग देखिन्छ ।
नेपालका छिमेकी देश जस्तै भारत र चीनले विज्ञान र प्रविधिमा गरेको लगानीका कारण तीव्र आर्थिक प्रगति गरेका छन् । भारतले अन्तरिक्ष प्रविधिमा उल्लेखनीय प्रगति गरेको छ । ‘मङ्गलयान’ मिसन जस्तो सफल परियोजना यसको उदाहरण हो । यसबाहेक भारतले बायोटेक्नोलोजी, सूचना प्रविधि र नवीकरणीय ऊर्जा क्षेत्रमा समेत विश्वस्तरीय अनुसन्धान र विकास गरेको छ । चीनले पनि विज्ञान र प्रविधिमा ठुलो लगानी गर्दै आर्थिक वृद्धि हासिल गरेको छ । चीनको ‘बेल्ट एन्ड रोड’ परियोजना र ‘मेड इन चाइना २०२५’ पहलहरूले चीनलाई विश्वको सबैभन्दा ठुलो आर्थिक शक्तिका रूपमा स्थापित गर्न मद्दत गरेका छन् । दक्षिण कोरियाले पनि विज्ञान र प्रविधिमा गरेको लगानीका कारण केही दशकमै आफूलाई उच्च विकसित राष्ट्रमा उभ्याएको छ । ‘सामसुङ’ र ‘एलजी’ जस्ता प्राविधिक कम्पनीले कोरियाली अर्थतन्त्रलाई विश्वमा अगाडि बढाएको छ ।
नेपालमा भने विज्ञान र प्रविधि क्षेत्रमा अपेक्षित विकास नहुनुको केही प्रमुख कारण छन् । पहिलो, विज्ञान र प्रविधिमा गरिने लगानी न्यून भएकाले यो क्षेत्रमा आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको अभाव छ । दोस्रो, प्राविधिक शिक्षा र अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सहयोग र प्रविधि हस्तान्तरण अपर्याप्त छ । यसले गर्दा नवीन प्रविधिको विकास र प्रयोगमा चुनौती उत्पन्न भएको छ । तेस्रो, विज्ञान र प्रविधिको शिक्षालाई व्यवस्थित गर्न आवश्यक सुधार र पुनर्संरचनाको अभाव छ । चौथो, धेरै नेपाली जनतामा विज्ञान र प्रविधिप्रति पर्याप्त ज्ञान र चेतना नभएकाले यो क्षेत्रलाई प्राथमिकता दिइएको छैन । पाँचौँ, लामो समयदेखि राजनीतिक अस्थिरताले गर्दा दीर्घकालीन योजना र परियोजना कार्यान्वयनमा समस्या भएको छ ।
नेपालमा विज्ञान र प्रविधिको विकासका लागि केही चुनौती भए पनि केही महत्वपूर्ण अवसर पनि छन् । नेपालमा जलविद्युत्, सौर्य ऊर्जा र बायोमास जस्ता नवीकरणीय ऊर्जा स्रोत प्रचुर मात्रामा उपलब्ध छन् । यी स्रोतको प्रभावकारी उपयोगले नेपालको आर्थिक विकासलाई गति दिन सक्छ । नेपालका युवालाई वैज्ञानिक अनुसन्धान र प्रविधिमा रुचि जगाई यो क्षेत्रलाई अगाडि बढाउनु पर्छ । नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँगको वैज्ञानिक अनुसन्धान र प्रविधिमा केन्द्रित सम्बन्धलाई सुदृढ गर्नु पर्छ । अन्तर्राष्ट्रियस्तरमा वैज्ञानिक अनुसन्धानका लागि अनुदान, प्राविधिक सहयोग र संयुक्त परियोजनामा सहभागिता हासिल गर्न नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) को रणनीति अवलम्बन गर्नु पर्छ ।
विज्ञान र प्रविधिको विकासका लागि थप कदम आवश्यक छ । पहिलो, विज्ञान र प्रविधिमा थप बजेट विनियोजन गरिनु आवश्यक छ । अनुसन्धान र विकासका लागि छुट्याइएको बजेटलाई कम्तीमा कुल बजेटको दुई प्रतिशत पु¥याउनु पर्छ । दोस्रो, विज्ञान र प्रविधिको शिक्षामा गुणस्तर सुधार र प्रयोगात्मक शिक्षण विधिको प्रवर्धन आवश्यक छ । तेस्रो, प्रविधिमा आधारित स्टार्टअपहरूलाई प्रोत्साहन गर्न सरकार तथा निजी क्षेत्रबाट वित्तीय सहयोग, प्रविधि हस्तान्तरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्छ । चौथो, छिमेकी राष्ट्रसँगको वैज्ञानिक सहयोगलाई बलियो बनाउँदै प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धान परियोजना र प्राविधिक सहायता विस्तार गर्नु पर्छ । दीर्घकालीन विज्ञान र प्रविधिको नीति निर्माण र कार्यान्वयनका लागि राजनीतिक स्थिरता र स्पष्टता आवश्यक छ ।
उद्योग अनुसन्धान र व्यवसायीकरणमा ध्यान केन्द्रित गर्नु पर्छ । परम्परागत उद्योगमा नयाँ प्रविधि भित्र्याएर उत्पादनको गुणस्तर र परिमाण वृद्धि गर्न सकिन्छ । साथै सीमित बजेटका कारण चीन र भारत जस्ता ठुला बजारसँग प्रतिस्पर्धा गर्न कठिन छ । त्यसैले साना र मझौला उद्योगको विकासमा केन्द्रित हुनु पर्दछ, जसले विशिष्ट प्रकारका उत्पादन जस्तैः हस्तकला, पर्यटन तथा जैविक उत्पादनको बजारमा अग्रता लिन सक्छ ।
समृद्धिका लागि सूचना प्रविधि (आइटी), कृत्रिम बुद्धिमत्ता (एआई) र सेवा उद्योगको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । आइटी क्षेत्रमा भएको प्रगति र डिजिटल प्रविधिको उपयोगले नेपाललाई विश्वव्यापी रूपमा जोड्न र आर्थिक वृद्धि गर्न अवसर प्रदान गरेको छ । एआईले उत्पादन प्रव्रिmयामा स्वचालित तथा कृषि, स्वास्थ्य र शिक्षामा नवीनतम समाधान ल्याउन सक्छ, जसले लागत घटाउन र सेवा गुणस्तर सुधार गर्न मद्दत गर्दछ । सेवा उद्योग, विशेष गरी पर्यटन, सूचना प्रविधि र वित्तीय क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक विकासको प्रमुख खम्बा बन्न सक्छ । युवालाई आइटी र एआईमा दक्ष बनाउने हो भने उनीहरूले विश्वव्यापी डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न सक्छन् । यसले विदेशमा रोजगारी मात्र होइन, स्वदेशमै उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन मिल्छ, जसले दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित गर्नमा मद्दत पु¥याउँछ ।
नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा प्रगति गर्नका लागि ‘पेटेन्टिङ’ को प्रक्रिया सुदृढ गर्नु पर्छ । नयाँ आविष्कारलाई कानुनी संरक्षण दिने र तिनको व्यवसायीकरण गर्ने प्रक्रियालाई सरल र सहज बनाउनु जरुरी छ । साथै प्रतिक्रिया इमिटेसन र रिभर्स इन्जिनियरिङको प्रविधि प्रयोग गरी केही उत्पादक र सेवामा अग्रता लिन सकिन्छ । ठुला देशहरूले विकास गरेको प्रविधिलाई आफ्नो सन्दर्भमा अनुकूलन गरी आर्थिक लाभ नेपालले उठाउन सक्छ । यो रणनीतिले नेपाललाई ठुला लगानी र अनुसन्धानबिना नै केही हदसम्म प्रतिस्पर्धी बन्न मद्दत पु¥याउँछ ।
नेपालको बजार सानो छ तर सेवा उद्योग र विशेष प्रकारका उत्पादनमा नेपालले ध्यान केन्द्रित गर्न सक्छ । उदाहरणका लागि पर्यटन उद्योग, हर्बल औषधी उत्पादन र जैविक कृषि उत्पादनजस्ता क्षेत्रमा नेपालले विशेष ध्यान दिन सक्छ । यी उद्योगले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई पहिचान दिलाउन सक्छन् र निर्यातका लागि नयाँ अवसर सिर्जना गर्न सक्छन् ।
त्यसैले नेपालको समृद्धिका लागि आइटी, एआई र सेवा उद्योग महत्वपूर्ण छन् । आइटीले डिजिटल कनेक्टिभिटी र आर्थिक अवसर बढाउँछ । एआईले कृषि, स्वास्थ्य र शिक्षामा सुधार ल्याउन सक्छ । सेवा उद्योगले रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धि गर्न मद्दत पु¥याउँछ । युवापुस्तालाई यी क्षेत्रमा दक्ष बनाउने हो भने नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दै दीर्घकालीन समृद्धि हासिल गर्न सक्छ । विज्ञान र प्रविधिलाई प्राथमिकता दिई यसमा लगानी बढाउनु नेपालको समृद्धिका लागि अपरिहार्य छ । छिमेकी देशले विज्ञान र प्रविधिमा गरेको प्रगति हामीले सिक्नुपर्ने उदाहरण हुन् । सरकारको पहल, अन्तर्राष्ट्रिय सहयोग र युवाको सक्रिय सहभागिताले नेपाललाई विज्ञान र प्रविधिमा उत्कृष्ट राष्ट्रका रूपमा स्थापित गर्न सकिन्छ । यसका लागि विज्ञान र प्रविधिको क्षेत्रलाई केन्द्रमा राखेर आगामी योजना र कार्यक्रम निर्माण गर्न भने चुक्नु हुँदैन ।
(लेखकद्वय इन्जिनियर हुनुहुन्छ)