• १० कात्तिक २०८२, सोमबार

‘दुर्गम क्षेत्रमा ‘फोरजी’ को पहुँच पुर्‍याउँछौँ’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारका लागि मन्त्रालयमा आइतबार ज्ञापनपत्र बुझाउँदै स्थानीय ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्‍याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फु क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न क्षेत्रका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेट गरी नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्यसमेत हो । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी क्षेत्र तथा मनाङको नार्पाभूमि गाउँपालिका–१ स्थित नारगाउँ र वडा नं. ५ को फुगाउँलगायतको क्षेत्रमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेको सञ्चारमन्त्री खरेलको सचिवालयले जनाएको छ । 

ज्ञापनपत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र इन्टरनेट सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पाभूमिका दुर्गम क्षेत्रमा 

‘फोरजी’ सेवाको पहुँच पु¥याउन पहल गर्ने विश्वास दिलाउनुभयो । देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदानप्रदान, डिजिटल भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्नका लागि मन्त्रालयले प्राथमिकतासाथ काम गरिरहेको उल्लेख गर्नुभयो । 

प्रतिनिधिमण्डलमा सहभागी हुम्ला सिमकोटका स्थानीय रामजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्न तथा सञ्चारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो । हुम्लाको लिमी, लाप्चाबाट पवित्र मानसरोवर दर्शन गर्न सकिन्छ तर त्यहाँ पुग्ने विभिन्न पदमार्गमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ । पर्यटकीय क्षेत्र लिमी, लाप्चासल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीन वटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेको उहाँको भनाइ छ ।

“हाम्रो मुख्य माग भनेको लिमी, लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनु पर्छ भन्ने लिमी, लाप्चावासीको माग रहेको छ,” स्थानीय रावतले भन्नुभयो, “बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्नका लागि हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई ठुलो राहत मिल्ने छ ।”

मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं. १ स्थित नारगाउँ र वडा नं. ५ को फुगाउँमा दूरसञ्चार सेवालाई दिगो र गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो । दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकोले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार सुविधा अति आवश्यक रहेको हुँदा सोको व्यवस्थापनका लागि यथासम्भव फोरजीसहितको मोबाइल नेटवर्कका लागि शीघ्र पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गरिएको उहाँको भनाइ थियो ।