• १६ भदौ २०८१, आइतबार

मीना हत्या प्रकरण : न्यायका लागि दैनिक दबाबमूलक आन्दोलन

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), भदौ ११ गते । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मीना परियारको न्यायका लागि दलित अधिकारकर्मी, परिवार र आफन्तले दैनिक रूपमा बेनीमा दबाबमूलक आन्दोलन गर्दै आएका छन् । आइतबार पनि दलित अधिकारकर्मीसहित पीडित पक्षले बेनीमा प्रदर्शन गरेका छन् । 

२०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी परियारको गत साउन २७ गते गाउँनजिकको आँखेत कालीमूलको जङ्गलमा गाडेको तथा सडेगलेको अवस्थामा शव फेला परेको थियो । मीनाको शव फेला परेपछि पीडित पक्षले हत्या भएको ठहर गर्दै न्यायका लागि दैनिक रूपमा आन्दोलन गरेका छन् । घरबाट मीना हराएको छ दिनपछि परिवारले २०८० पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मीना र स्थानीय राम खत्रीको म्यासेन्जरको कुराकानी भेटिएपछि माघ २१ गते मीनाका बुवा चन्द्रबहादुर परियारले रामले छोरीलाई बेपत्ता बनाएको किटानी जाहेरी दिनुभएको थियो । 

जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपित रामलाई पक्राउ गरेको थियो । व्यक्ति बेपत्ता पार्ने कसुरमा जिल्ला अदालतको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

सडेगलेको अवस्थामा भेटिएको शव, सिक्री, स्वेटर, चप्पललगायत सामग्री मीनाकै भएकाले हत्या गरी गाडेको परिवारले बताएका छन् । मीनाको शव फेला परेपछि थुनामा रहेका रामसहित उनका परिवारका सदस्य र आफन्तसहित पाँच जनालाई प्रतिवादी बनाएर मीनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीका आधारमा थप तीन जनालाई फरक फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका निरीक्षक तथा सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हत्यामा संलग्न भएको आरोपमा परिवारले किटानी जाहेरीमा उल्लेख गरेका चार जनालाई पव्रmाउ गरिएको छ । एक जना फरार छन् । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।”  अन्तरजातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रूपमा हत्या गरेको प्रमाण भेटिए पनि प्रहरीले गहिरो गरी अनुसन्धान नगरेका कारण न्यायका लागि आन्दोलन गर्नु परेको संयुक्त सङ्घर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितले न्याय नपाएसम्म आन्दोलन रोकिँदैन । हत्यामा संलग्न सबैलाई पक्राउ गरेर कडा कारबाही हुनु पर्दछ ।” 

चन्द्रबहादुर र फूलमाया परियारका तीन छोरी र एक छोरामध्ये कान्छी मीना तोरीपानीको गलेश्वर मावि कक्षा १२ मा पढ्नुहुन्थ्यो । छोरीलाई न्याय दिलाउन बुवा चन्द्रबहादुर र आमा फूलमाया दैनिक जसो बेनीको आन्दोलनमा सहभागी हुनुहुन्छ ।