• ३० वैशाख २०८२, मङ्गलबार

प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ : सांसद चौधरी

blog

प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरी ।

काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताउनु भएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो,‘सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।’ 

सार्वजनिक खर्चलाई औचित्यपूर्ण बनाउनुपर्ने भन्दै उहाँले स्रोतको अभावलाई पुष्टि गर्न सक्ने आधार ल्याइएको बताउनुभयो । कृषि, पर्यटन र सूचना प्रविधि तथा आइटी क्षेत्रको कुरालाई दिगोरूपमा अगाडि बढाउनुपर्ने भन्दै उहाँले निजी क्षेत्रको लगानीका लागि सहज वातावरण निर्माण गर्दै लैजानुपर्ने बताउनुभयो ।’ निजी क्षेत्रको लगानीलाई सहज वातावरण प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । 

रोजगारीको अवसर सिर्जना गर्ने कुरामा विशेष जोड दिनुपर्ने भन्दै उहाँले व्यापार घाटा न्यूनीकरण गर्दै जानुपर्ने बताउनुभयो । पछिल्लो समय गत वर्षभन्दा केही सुधार त भएको छ । त्यो सँगसँगै सार्वजनिक वित्त सन्तुलन गर्नका लागि विनियोजनको कुशलताको अभिवृद्धि गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । 

त्यसैगरी सांसद चौधरीले सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र र समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । राज्यबाट प्रदान गर्ने अनुदान सुविधा दोहोरोपनलाई हटाउने कुरा सकारात्मक भएको भन्दै उहाँले क्षेत्रगतरूपमा प्राथमिकताका आधारहरु छुट्टाउनु पर्दा राज्यको नजरबाट छुट्दै आएका क्षेत्रलाई छुटाउन नहुने बताउनुभएको छ । 

यसैगरी उहाँले सबै पालिकामा पर्यटकीय क्षेत्रको विकासका लागि विशेष योजना ल्याउन काम गर्नुपर्नेमा पूर्वमन्त्री चौधरीले भभन्नुभयो,‘७५३ पालिकामा आन्तरिक वा बाह्य पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्छ । प्रत्येक पालिकामा एउटा आन्तरिक पर्यटकीय गन्तव्य तोकिनुपर्छ । जसमा कति पर्यटक भित्र्याउन सक्छौ त्यसको लक्ष्य निर्धारण पनि गरिनुपर्छ । अहिलेको प्राथमिकता आइटी क्षेत्र हो । त्यसैले यसमा हामीले जोड दिन आवश्यक छ ।’