• ३० वैशाख २०८२, मङ्गलबार

कोहलपुर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

blog

ागरपालिकालाई पूर्ण खोप तथा दिगोपना भएको प्रमाणपत्र ग्रहण गर्दै । तस्बिर : सिराज खान/नेपालगन्ज

सिराज खान
नेपालगन्ज, वैशाख ३० गते ।
बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

वार्षिकरुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष पनि घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई पूर्णखोप घोषणा गर्नुभयो । उहाँले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने कुरामा जोड दिनुभयो ।

त्यसका लागि समुदायस्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न प्रमुख आचार्यले निर्देशन समेत दिनु भएको छ । कोहलपुर नगरपालिकाले स्वास्थ्य सेवाको गुणस्तरियता तथा प्रभावकारितालाई विशेष ध्यान दिएको भन्दै कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने नगर प्रमुख आचार्यले बताउनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्कीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाकालागि स्वास्थ्यकर्मीहरुले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले सङ्क्रामक रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा आफूहरु सजग रहेको बताउनुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट बोल्दै बिना चालिसेले बालबालिकालाई नियमित खोप प्राप्तिका लागि अझै पनि अभिभावकलाई सचेत पार्न जरुरी रहेको सुनाउनुभयो ।

कोहलपुर नगरपालिकाअन्तर्गत जन्मेदेखि ११ महिनाका एक हजार ९१२ जना बालबालिकाले नियमित रुपमा पूर्णखोप लगाएपछि शतप्रतिशत पूर्णखोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार ९९१ जनाले समेत सबै खोप लगाएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत अमृत रानाले बताउनुभयो । सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३९ जनाले खोप लगाउन छुटेको पाइएपछि उनीहरुलाईलाई पनि खोप लगाइएको रानाले बताउनुभयो ।

घोषणा कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारी र सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।