शशिधर पराजुली
विराटनगर, वैशाख ३० गते । बाल सुधारगृहमा राखिएका बालबिज्याइँकर्ताहरु सुधारगृहबाट भाग्नथालेपछि विराटनगरको बालसुधार गृहको सुरक्षाप्रति प्रश्न उठ्न थालेको छ ।
विराटनगर ३ मा रहेको बाल सुधारगृहबाट पछिल्लो ५ वर्षमा चार पटक बिज्याइँकर्ताहरु भागिसकेका छन् । पाँच वर्षको अवधिमा १० जना बिज्याइँकर्ताहरु सुधार गृहबाट भाग्दा उनीहरुको खोजीका लागि सुरक्षाकर्मीले समेत हैरानी व्यहोर्नु परेको छ ।
बाल सुधारगृहबाट पछिल्लो पटक वैशाख २९ गते सोमबार तीन जना बालकहरु भागेका छन् । दिउँसोको समयमा फरार भएका बालज्यिाइँकर्ताहरुको बारेमा सुधारगृह प्रशासनले साँझ अबेर मात्र जानकारी पाएको थियो ।
साँझमा संख्या गन्ने क्रममा तीन जना बालबालिकाहरु नभेटिएपछि मात्र भागेका बालबिज्याइँकर्ताहरुको खोजी थालिएको थियो । प्रहरीले फरार भएका तीनै जनालाई मंगलबार अपरान्हसम्म फेला पार्न सकेको छैन ।
उक्त बाल सुधारगृहबाट सोमबार चौथो पटक बालकहरु भागेका हुन् । भागेका तीनै जना बालकहरु विभिन्न समयमा जबरजस्ती करणीको अभियोगमा सजाय पाएका र पूर्पक्षका लागि राखिएका बालकहरु हुन् । सुधारगृह प्रशासनका प्रमुख मिलन चौहानले उदयपुर, झापा र ताप्लेजुङ जिल्लामा घर भएका १७ देखि १८ वर्ष उमेरका बालकहरू सोमबार दिउँसो सुधारगृहबाट भागेको जानकारी दिनुभयो ।
फरार भएकामध्ये उदयपुरका १८ वर्षे बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनले सुधार गृहमा तीन वर्ष बिताइसकेको चौहानले जानकारी दिनुभयो । झापा र ताप्लेजुङका बालकहरु भने पाँच महिना अगाडि सुधार गृहमा राखेर पूर्पक्षका लागि आएका थिए ।
यसअघि गत भदौ ४ गते पनि उक्त सुधारगृहबाट दुई जना बालकहरु भागेका थिए । सुनसरी घर भएका दुवै बालकहरु रातको समयमा भवनबाटै हाम्फालेर भागेका थिए ।
भागेका मध्ये कर्तब्य ज्यान तथा डाका मुद्दामा १२ वर्ष ६ महिना सुधारगृहमा राख्ने फैसला भएका बालक थिए भने अर्का जबरजस्ती करणी मुद्दाका आरोपी थिए । पछिल्लो ९ महिनाको अवधिमा दोस्रो पटक उक्त बाल सुधार गृहबाट बिज्याइँकर्ताहरु फरार भएका हुन् । यस अवधिमा मात्र पाँच जना त्यहाँबाट भागेका छन् ।
त्यसअघि २०७८ साल असार ११ गते तीन जना बिज्याइँकर्ताहरु तीन तला माथिबाट चौरमा हामफालेर भागेका थिए । सुधारगृहको भवनको तीन तलामाथिबाट हामफाल्दा भाग्न खोजेका चार जनामध्ये एक जना भने घाइते अवस्थामा घटनास्थलमै भेटिएका थिए ।
पहिलो पटक २०७६ कात्तिक १० गते उक्त बाल सुधारगृहबाट दुई जना बालकहरु भागेका थिए । तेस्रो तलामा रहेको भेन्टिलेसनमा लगाएको ग्रिल निकालेर त्यसबेला उनीहरु भागेको सुधारगृह प्रशासनले जनाएको छ ।
यसरी पटक पटक बाल सुधार गृहबाट अदालतबाट सजायँ पाएका र पूर्पक्षका लागि राखिएकाहरु भाग्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ । बालकहरु भाग्ने क्रम दोहोरिरहँदा पनि स्थानीय प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध सुधार गर्ने काममा भने खासै ध्यान दिएको छैन । जसले गर्दा पटक पटक घटना दोहोरिरहेको पाइएको छ ।
सुधारगृह प्रशासनका प्रमुख चौहानले भन्नुभयो, ‘पूर्वाधारको अवस्था र सुरक्षाकर्मीको संख्था तथा ड्युटी प्रणाली सबैतिर कमजोरी हुँदा पटक पटक बिज्याइँकर्ताहरु भाग्ने गरेको हाम्रो अध्ययनबाट स्पष्ट भएको छ ।’ प्रमुख चौहानले २३९ जनाको सुरक्षाका लागि जम्मा १३ जना सुरक्षाकर्मी खटाइएको छ, त्यति संख्याले रातदिन ड्युटी गर्न, सबैतिर निगरानी गर्न सकिने अवस्था नरहेको पनि बताउनुभयो ।
त्यतिमात्र होइन सुधार गृह भवन तुलनात्मकरुपमा होचो रहेको, पछाडिपट्टि खुला खेत भएका कारण माथिबाट हामफाल्दा भाग्न सक्ने सम्भावना देखिएको, कम्पाउण्ड वाल पनि होचो भएकोले भाग्न खोज्नेहरु सजिलै भाग्न सक्ने प्रकृतिको रहेकोले त्यहि कमजोरीको फाइदा उठाउँदै बिज्याइँकर्ताहरु भागिरहेको देखिन्छ ।
अर्को समस्या भनेको १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई राख्नका लागि बनाइएको सुधारगृहमा १८ वर्षदेखि ३० वर्ष उमेरका ११५ जना व्यक्तिहरु छन् । त्यहाँ २५ वर्षभन्दा माथिका ३० जना युवाहरुलाई राखिएको चौहानले जानकारी दिनुभयो ।
‘बाल सुधार गृहमा १८ वर्षसम्मका बिज्याइकर्तालाई राख्ने भनिएको छ तर १८ वर्षभन्दा माथिकै ११५ जना राखिएको छ,’ चौहानले भन्नुभयो, ‘यसले गर्दा पनि सुरक्षा चुनौती थपिएको हो, अनुशासन व्यवस्थापनले गर्दा मात्र हो नत्र अवस्था जटिल नै छ ।’
बालसुधार गृहभित्रै केही समय अगाडि बालबालिका खोजतलास केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्रको छुट्टै कम्पाउण्ड छैन । जसले गर्दा पनि सुरक्षा चुनौती बढेको पाइएको छ । सोमबार बालबालिका खोजतलास केन्द्रमा आएका व्यक्तिहरुले सुधारगृहको गेट बन्द नगरिदिएका कारण तीन जना बालबालिका भागेको आशंका त्यहाँका सुरक्षाकर्मीहरुको छ ।
अवस्था कस्तो छ भने बाल सुधारगृहको सुरक्षामा खटिने प्रहरी १९/२० वर्षका हुने तर २५/३० वर्षका व्यक्तिहरु बालकको रुपमा त्यहाँ रहने अवस्थाले पनि सुरक्षामा समस्या देखिएको हो । प्रमुख चौहानले १८ वर्षमाथिका व्यक्तिलाई फरक ढंगले व्यवस्थापन गर्नु पर्ने र त्यसो नहुँदासम्म सुरक्षा समस्या आइरहने बताउनुभयो ।
अहिलेसम्म भागेकाहरुको मनोविज्ञान बुझ्दा लामो समय सुधारगृहमा बस्नुपर्ने व्यक्तिहरुले भाग्ने सोच बनाउने गरेको पाइएको उहाँको भनाइ छ । उक्त सुधारगृहमा ५० जना बालकहरु राख्न सकिने भएपछि अहिले २३९ जना बसिरहेका छन् । सोमबार तीन जना भाग्नु अगाडि २४२ जना राखिएको थियो ।