जनार्जन खत्री
सर्लाही, वैशाख ३० गते । सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी अर्थात् भरत तालमा एक पुरुषको डुबेर मृत्यु भएको छ ।
बागमती नगरपालिका–४ जिरायतका ६७ वर्षीय पाले सार्कीको तालमा डुबेर मृत्यु भएको हो । बागमती नगरपालिका १२ मा रहेको तालमा सार्कीलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
प्राय घरमा नबस्ने सार्की अत्यधिक गर्मी भएपछि पौडी खेल्न तालभित्र पस्दा डुबेर मृत्यु भएको आशङ्का गरिएको छ । शव भेटिएको स्थानभन्दा चार सय मिटर पर तालको डिलैमा सार्कीले लगाएको चप्पल खोलेर राखिएको भेटिएको छ ।
मृतक सार्कीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टमपछि परिवारलाई बुुझाइएको प्रहरीले जनाएको छ । सार्कीको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।