• ३० वैशाख २०८२, मङ्गलबार

गोरखामा क्युआर कोडसहितको 'स्ट्रिट नम्बर' राख्न सुरु

blog

गुणबहादुर रोका 

सुलीकोट, वैशाख ३० गते । गोरखा नगरपालिकाले भ्रमण वर्ष २०२५ लाई लक्षित गरी जिल्लाका मुख्य स्थानमा स्ट्रिट नम्बर राख्न सुरु गरेको छ । 

गोरखाको मुख्य नाका तनहुँको आँबुखैरनीबाट प्रवेश गर्ने मूल गेटदेखि ऐतिहासक गोरखा दरबारसम्म र हरमटारी चोकदेखि गोरखा नगरपालिका–२ कोखे आहालेसम्म स्ट्रिट नम्बर राख्न सुरु गरिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले जानकरी दिनुभयो । 

नगरपालिकाभित्र हालसम्म ३० वटा स्थानमा स्ट्रिट नम्बर सहितको बोर्ड राखिएको छ, प्रमुख रानाले भन्नुभयो, “गोरखा नगरपालिका भित्र कुल ३९ वटा ठाउँलाई नम्बरिङ गर्नेमा अब ९ स्थानमा मात्र नम्बरिङ गर्न मात्र भएकाले अबको केहि दिनमा सबै ठाउँमा राखिसक्छौं ।”

गोरखा आउने आन्तिरिक तथा बाह्रय पर्यटकलाई मध्येनजर गर्दै क्युआर सहितको बोर्ड पनि राखेका छौं, प्रमुख रानाले भन्नुभयो, “उक्त क्युआर कोर्ड स्कनिङ गरेपछि त्यहाँबाट कुन कुन ठाउँ पुग्न सकिन्छ भनेर त्यस ठाउँको विवरण आउँछ ।”

त्यस्तै जिल्लामा ऐतिहासिक र धार्मिक महत्त्वका स्थानमा क्युआर कोर्ड सहितको सुचनामुलक होडिङ बोर्ड राख्ने काम पनि सुरु भएको गोरखा नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाले पहिचान गरेका कुल ५६ स्थान मध्ये १८ ठाउँमा राखिसकिएको गोरखा नगरपािलकाका इन्जियिर प्रकाश ढकालले बताउनुभयो । 

उहाँका अनुसार उक्त बोर्डमा धार्मिक र ऐतिहासिक महत्त्वसँगै आवश्यक विवरण उल्लेख गरिएको छ । गोरखा नगरपालिकाको वडा नम्बर १ ताप्लेकोट र अकलामन्दिर, वडा नम्रबर २ को भुतिया छाँगो र गौरीशङ्कर मन्दिर, वडा नम्बर ३ बिन्दाबासिनी मन्दिर, वडा नम्बर ४ को भिमसेन पार्क र भगवती स्थान मन्दिर, वडा नम्बर ५ को चिल्डेन पार्क र द्रब्यशाह चौतारा, वडा नम्बर ६ को गोरखा दरबार, सङ्ग्रहालय, ठुलो आँगन, रानीपोखरी परिसरमा होडिङबोर्ड राखिने भएको छ । 

त्यस्तै वडा नम्बर ८ को वराह मन्दिर, वडा नम्बर १० को महादेवटारी, वडा नम्बर १३ को रामशाह उद्यान र वडा नम्बर १४ को बुढिकोट र अकला मन्दिरमा होडिङबोर्ड राखिने छ । बाँकी रहेका ३ वटा वडामा होडिङबोर्ड राख्ने तयारी भइरहेको गोरखा नगरपालिको जनाएको छ । 

गोरखा भ्रमण वर्ष सफल पानुका साथै गोरखा नगरपालिकाभित्र रहेको ऐतिहासिक तथा धार्मिक गन्तव्यहरूलाई चिनाउने उद्देश्यले क्युआर कोर्डसहितको स्ट्रिट नम्बर राखिएको बताइएको छ ।