अमरराज नहर्की
तनहुँ, वैशाख ३० गते । तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश आयूर्वेद चिकित्सालयमा औषधीको अभाव छ । बजेट कटाैती हुँदा आवश्यकता अनुसारको औषधी खरिद गर्न नपाउँदमा अभाव भएको हो ।
औषधीको अभाव हुँदा बिरामीहरू रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता छ । औषधीको लागि थोरै रकम विनियोजित भई आएकोले समस्या परेको प्रदेश आयूर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुयो ।
स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बेला औषधी अभाव हुँदा समस्या परेको बताउनुहुन्छ । चापागाईले भन्नुभयो, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका बिरामीलाई पनि निको बनाएर पठाएकाले बिरामी चाप बढेको छ तर औषधिको बजेट कटौती हुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ ।’’
बिरामीको सङ्यामा वृद्धि भइरहेकोले औषधीको लागि रकम थप गर्नुपर्नेमा पहिलेभन्दा आधा कम रकम पठाएकोले अभाव झेल्नु परेको कार्यालय प्रमुख आयूर्वेद चिकित्सक डाक्टर नारायण श्रेष्ठले बताउनुभयो । आर्थिक वर्ष २०७९–८० मा वार्षिक रूपमा औषधी खरिदको लागि १८ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८०-८१ मा आठ लाख १० हजार र चालु आर्थिक वर्ष २०८१-०८२ मा आठ लाख रुपियाँ मात्रै पठाएकोले औषधीको अभाव भएको उहाँले जानकारी दिनुभयो ।
डा.श्रेष्ठले भन्नुभयो, “बिरामी झण्डै दोब्बर बढेकाले ३६ लाख रुपियाँ विनियोजन गर्नुपर्ने आठ लाख मात्रै विनियोजन गर्दा समस्या परेको छ ।’’
अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिने बिरामी आउने चिकित्सालयले जनाएको छ । दैनिक करिब एक सय जना बिरामी आउने गरेका छन् ।