काठमाडौँ, वैशाख ३० गते । काठमाडौँ महानगरपालिका वडा नं २२ को आयोजनामा सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
काठमाडौँ बुद्धिचाल सङ्घको प्राविधिक सहयोग रहने यस दुई दिने प्रतियोगता जेठ १४ र १५ गते सङकटा मन्दिर रहेको तेबहालमा हुनेछ । टिम गेमको रुपमा हुन लागेको यस बुद्धिचाल प्रतियोगितामा एक टिममा तीन खेलाडी हुनुपर्नेछ ।
जसमा पहिलो र दोस्रो बोर्डमा खुला प्रतिस्पर्धा हुनेछ । तेस्रो बोर्डमा अनिवार्यरुपमा एक महिला अथवा यु-१६ खेलाडी सामेल गर्नुपर्नेछ । हरेक टोलीमा एक टिम मेनेजर पनि रहनेछ ।
काठमाडौँ चेस क्लबका अध्यक्ष केशव श्रेष्ठले खेलाडीहरु आफूले प्रतिनिधित्व गर्ने सहभागी खेलाडी सोही वडाको स्थायी अथवा अस्थायी बासिन्दा हुनुपर्ने नियम भएको जानकारी दिनुभयो । उहाँले १६ वर्ष मुनिको हकमा भने आफू खेल्ने वडामा रहेको विद्यालयमा अध्ययनरत भएको भएपनि हुने बताउनुभयो ।
प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित ५० हजार, उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई २५ हजार र चौथो हुने टिमलाई २० हजार रुपियाँ प्रदान गरिनेछ । यसैगरी प्रत्येक बोर्डको विजेताले जनही दस हजार रुपियाँ पुरस्कारस्वरुप प्राप्त गर्नेछ ।
आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले प्रतियोगितामा आयोजकका दुई टिमसहित सबै ३२ वडाको सहभागिताका लागि पहल भइरहेको बताउनुभयो ।
उहाँले महानगरपालिकाभित्रका वडाबिच सद्भाव कायम गर्न र काठमाडौँ महानगरपालिका भित्रका बुद्धिचाल खेलाडीहरुलाई एक्सपोजर प्रदान गर्न अन्तर वडा प्रतियोगिता आयोना गर्न लागेको हो, भन्नुभयो ।
यस प्रतियोगितालाई सफल पार्न वडा सदस्य चन्द्रमान तुलाधरको संयोजकत्वमा समिति गठन गरिएको छ ।