• ८ मंसिर २०८१, शनिबार

तालिबान सत्तारोहणका तीन वर्ष

blog

फाइल तस्बिर ।

बगराम (अफगानिस्तान), साउन ३० गते । अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले आफ्नो शासनको तेस्रो वर्षगाँठको अवसरमा बुधबार पूर्व अमेरिकी बगराम एअर बेसमा उत्सव मनाएको छ ।

नेताहरूको भाषण सुन्न र सैन्य परेड हेर्नका लागि काबुलबाट करिब ४० किलोमिटर टाढा रहेको बेसमा विदेशी कूटनीतिज्ञसहित सयौँ व्यक्ति भेला भएका थिए । सन् २०२१ को अगष्ट १५ मा अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिबान सेनाले राजधानी काबुल कब्जा गरेको थियो । यो वर्षगाँठ अफगान क्यालेन्डरमा एक दिन अघि नै मनाइन्छ ।

दुई दशकदेखि अफगानिस्तानमा अमेरिकी नेतृत्वको अभियानको केन्द्रको रूपमा रहेको अफगानिस्तानको सबैभन्दा ठुलो हवाई अड्डामा भएको कार्यक्रममा वरिष्ठ तालिबान अधिकारीहरू हेलिकप्टरमा पुगेका थिए । आफ्नो २० वर्षे विद्रोह अन्त्य गरेको तीन वर्षमा तालिबान सरकारले इस्लामको कडा व्याख्यामा आधारित कानुनहरू लागू गर्दै देशमाथि आफ्नो पकड बलियो बनाएको छ । 

संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन । समारोहको केही दिन अघि, तालिबान कार्यकर्ताहरू काबुल वरिपरि वार्षिकोत्सवको मितिको साथ ‘बधाई’ लेखिएको ब्यानर र साइनबोर्डहरू टाँस्न व्यस्त थिए ।

इस्लामिक कानुन मुख्य प्राथमिकतामा   

पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो ।”

अखुन्दले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै ‘यस मितिमा अल्लाहले मुजाहिद राष्ट्र अफगानिस्तानलाई एक अन्तर्राष्ट्रिय घमन्डी र कब्जा गर्ने शक्तिमाथि निर्णायक विजय प्रदान गर्नुभयो’ भन्नुभएको थियो ।

राजधानी र तालिबानको आध्यात्मिक अखडा कान्दाहारमा ‘विजयको दिन’को पूर्वसन्ध्यामा थप सुरक्षा व्यवस्था गरिएको छ । तालिबान आन्दोलनको उद्गमस्थल र धार्मिक आदेशमार्फत शासन गर्ने नेता हिबतुल्लाह अखुन्दजादाको घर रहेको दक्षिणी सहर कान्दाहारमा पनि ठुलो सुरक्षा र सजावट गरिएको छ ।     

बढ्दो मानवीय सङ्कट

तालिबान अधिकारीहरूको लागि सुरक्षा एक प्रमुख प्राथमिकता रहेको छ र धेरै अफगानी नागरिकले लगातार २० वर्षको द्वन्द्वको अन्त्यमा राहत व्यक्त गरे तापनि अर्थव्यवस्था सङ्कटमा छ र समाजले बढ्दो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी समूहको संयुक्त वक्तव्यमा दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको भन्दै सहायता कोषको खाडल बढ्दै गएको चेतावनी दिइएको छ ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सार्वजनिक जीवनबाट वञ्चित र माध्यमिक तथा उच्च शिक्षाबाट प्रतिबन्धित महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबान सरकारलाई दबाब दिन आग्रह गरेको छ ।

“तालिबानले कब्जा गरेको तेस्रो वर्षगाँठ अफगानिस्तानको मानव अधिकार सङ्कटको गम्भीर सम्झना हो, तर यो कार्यको आह्वान पनि हुनुपर्छ,” एचआरडब्ल्यूका लागि अफगानिस्तानका अनुसन्धाता फेरेस्ता अब्बासीले भन्नुभयो । रासस/एएफपी