• १२ असोज २०८१, शनिबार

दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र घोषित

blog

कोकिला ढकाल

इलाम, साउन २६ गते । इलाम नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ ।  इलाम नगरपालिका–३, पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रलाई विश्वमै दुर्लभ रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो । 

पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको पाटेनागीमा नगरपालिकाले एक कार्यक्रम गरी संरक्षण क्षेत्र घोषणा गरेको हो । नगरपालिका प्रमुख केदार थापाले संरक्षण क्षेत्र घोषणा गर्दै नगरपालिकाको वन ऐन, २०७८ बमोजिम पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०८० अनुसार यो क्षेत्रलाई रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरेको बताउनुभयो । 

संरक्षित क्षेत्र भनिएका यी दुई सामुदायिक वन ११६.२१ हेक्टर क्षेत्रफलमा रहेका छन् । संरक्षण क्षेत्र घोषणा गरिएपछि रेडपान्डाको सुरक्षित वासस्थानका रूपमा स्थानीय संरक्षण समितिले काम गर्ने जनाइएको छ । 

इलामको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर, जमुनाको चोयाटार सामुदायिक वन र पुवामझुवा रेडपान्डाको वासस्थान मानिन्छ । उत्तरी सन्दकपुर र कैयाकट्टासँग सिमाना जोडिएको भारतको सिंहलीला नेसनल पार्क हुँदै यो क्षेत्रमा रेडपान्डासहित अन्य वन्यजन्तु नेपालतर्फ आउजाउ गर्ने गरेको स्थानीय बताउँछन् । 

रेडपान्डाको क्षेत्रमा काम गर्दै आएको रेडपान्डा नेटवर्क नेपाका हरिशचन्द्र राईले दक्षिण एसियाको म्यानमार, नेपाल, चीन, भारत र भुटानमा मात्र रेडपान्डा पाइने र यसलाई संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “रेडपान्डाको संरक्षण गर्न त्यति सजिलो नभएकाले धेरै क्षेत्रको प्रयासले मात्र संरक्षणको काम सम्भव हुन्छ ।” 

राष्ट्रिय वन्यजन्तु ऐन, २०२९ मा पनि  रेडपान्डालाई दुर्लभ वन्यजन्तुका रूपमा राखिएको छ । कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, वन डिभिजन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठलगायतले रेडपान्डा संरक्षणको औचित्य र अवस्थाका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।