• १८ असार २०८१, मङ्गलबार

तारकेश्वर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा

blog

काठमाडौं, वैशाख २१ गते। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरस्तरीय घरदैलो अभियान सुरु भएको छ।

 निर्वाचन आचारसंहिताको पालना गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। मतदाताको घरदैलोमा पुगेर उम्मेदवारले मत माग्ने कार्य गरिरहेका छन्। आ-आफ्नो योजनाका साथ उम्मेदवार चुनावी घरदैलो अभियान रहेका छन्। 

यस नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर बोहरा, नेपाली कांग्रेसका हरिकृष्ण महर्जन, नेकपा (एकीकृत समाजवादी) का लवकुमार बस्नेत नगर प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसैगरी, जनता समाजवादी पार्टीका बाबुराम लामा, विवेकशील साझा पार्टीका महेशविक्रम कुँवर, नेपाल मजदुर किसान पार्टीका कुमार महर्जनसहित उम्मेदवार चुनावी मैदानमा छन्। नगरमा केही स्वतन्त्र उम्मेदवार छन्। 

उपप्रमुख पदमा एमालेका भवानी डोटेल धिताल, कांग्रेसका सिर्जना बुर्लाकोटी अर्याल, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन चुनावी मैदानमा हुनुहुन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सीमा राजवहाक, नेपाल मजदुर किसान पार्टीका इन्द्रकुमार बज्राचार्य उपप्रमुख पदमा उम्मेदवार हुनुभएको छ। यस नगरपालिकामा नेकपा समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। 

माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेदवार धनलाल महर्जनले कार्यालय व्यवस्थापन, पार्टी प्रवेश र मत माग्नेलगायतको कार्यक्रम भइरहेको बताउनुभयो। चुनावी तालमेलबाट आफ्नो समूहको विजय सुनिश्चित भएको दाबी महर्जनको छ। दुई दलले कतिपय वडामा चुनावी तालमेल पनि गरेका छन्। घरदैलो अभियान ठूलो वडामा दुई दिन र सानो वडामा एक दिनमै सक्ने तयारी गरिएको पनि महर्जनले जानकारी दिनुभयो। 

कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जनका अनुसार, घर घरमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रम जारी रहेको बताउनुभयो। यस नगरमा ११ वटा वडा रहेकाले क्रमशः कार्यक्रम अगाडि बढेको जानकारी दिनुभयो। जनताको विश्वास बढेकाले चुनाव जित्ने दाबी उहाँले गर्नुभयो। 

कांग्रेसबाटै उपप्रमुख पदका उम्मेदवार रहनुभएकी सिर्जना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनासहित अगाडि बढेको सुनाउनुुभयो।  यस नगरमा पानीको समस्या रहेकाले त्यसलाई मुख्य मुद्दा बनाइएको छ भन्दै उहाँले नगरवासीले खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात राम्रो बनाउन सल्लाह सुझाव दिएको बताउनुभयो। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रामेश्वर बोहराले पनि अन्य पार्टीजस्तै गरी घरदैलौ अभियान सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो अभियान सुरु गरेका छौँ। आजबाट कार्यकर्ताले जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।’’ 

यसअघि पनि प्रमुख पदमा विजयी हुनुभएका बोहराले भन्नुभयो, ‘‘यस पटक तारकेश्वरमा विजय हासिल गर्ने हो, एमाले विजय भएपछि यो ठाउँको मुहार फेरिने छ, हाम्रो विभिन्न काम गर्ने योजना छ।’’ 

कला र संस्कृतिले भरिपूर्ण तारकेश्वर नगरपालिकामा विभिन्न सम्भावनाको खोजी गरी जनतालाई रोजगारी दिने लक्ष्यसमेत रहेको भनाइ उहाँको छ। यसैबीच, काँग्रेसका वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार हस्तबहादुर गुरुङसहितको वडाका उम्मेदवारले आफूले जितेमा गर्ने कार्यहरूको सङ्कल्प पत्रसहित मतदातासँग पुगेको जानकारी दिनुभयो। उता, सो वडामा एमालेले पहिलेकै वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको समूहलाई पुनः टिकट दिएको छ। श्रेष्ठको टोलीले पनि घरदैलो अभियान सुरु गरेको छ। नेकपा (माओवादी) केन्द्रले ४ नम्बर वडामा हरिशरण गिरी ‘मिलन’ र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजकुमार बोगटीलाई वडा अध्यक्ष पदमा उठाएको छ। 

सोही वडाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सदस्य पदका उम्मेदवार सीताराम सञ्जेलले पार्टीको सल्लाह अनुसार, विकासलाई निरन्तरता दिन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अघि बढ्ने बताउनुभयो। उहाँले सबैभन्दा पहिले जनतालाई पानी खुवाउनुपर्ने आवश्यकता आफूले देखेको बताउनुभयो। 

तारकेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा एमालेले एउटा वडा अध्यक्षबाहेक सबैमा विजयी हासिल गरेको थियो। कांग्रेसले एउटा वडामा अध्यक्ष जितेको थियो। 

प्रमुख पदमा कांग्रेस दोस्रो र माओवादीको प्रमुख पदका उम्मेदवारले तेस्रो मत प्राप्त गरेका थिए। एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेकाले यस पटकको निर्वाचनमा एमाले, कांग्रेस र समाजवादी पार्टीका प्रमुख पदमा त्रिपक्षीय उच्च प्रतिस्पर्धा हुने देखिएको छ। उपप्रमुखका पदमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान स्थानीय मतदाताको छ। 

  

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।