पुष्कर भण्डारी
डडेल्धुरा, कात्तिक ८ गते । डोटी जिल्लाबाट डडेल्धुरा आउँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना यात्रु घाइते हुनुभएको छ । डोटी डडेल्धुरा जोड्ने डा. केआई सिंह राजमार्ग अन्तर्गत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३, मछलीखोलामा दुर्घटना भएको हो ।
शनिबार मध्यान्ह १२ः०० बजेको समयमा लुम्बिनी प्रदेश ०१००१ च. ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते हुनुभएको छ । घाइते हुनेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहनुभएको छ ।
घाइतेहरूमध्ये चार जनाको अवस्था सामान्य छ भने लाली साउँदको अवस्था मध्यम रहेको उहाँले जानकारी दिनुभयो । घाइतेहरू सबैको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको उहाँले बताउनुभयो । दुर्घटनाको कारण नखुलेको र यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।