पश्चिम क्षितिजमा घाम डुब्नै लागेको छ । आकाशमा देखिने रक्तिम लाभाले साँझलाई स्वागत गर्दै छ । वनजङ्गलबाट गाउँगोठतिर फर्काइँदै छन् गाईवस्तु । गोठमा गाईवस्तु बाँधेपछि बालबालिका, किशोर, युवा सबै बड्घर (भलमनसा) को घरमा जम्मा हुन्छन् । थारू गाउँका केटाकेटी, युवा, पाका सबै नयाँ नयाँ कपडा लगाएर (नुइयाँ) सानो आकारको ढकियामा भुजा, कोहरी, कपडाको रङ्गीबिरङ्गी ‘गुर्या’ अर्थात् कपडाको पुतली लिएर गाउँको चौराहा (चोक) मा भेला हुन्छन् । त्यसपछि गुरही अर्थात् गुरिया (गुर्या) पूजा सुरु हुन्छ ।
वर्षा सकिएपछि थारू समुदायमा धुमधामसाथ मनाइने चाड गुरिया हो । यो पर्वलाई कतिपय ठाउँमा गुरही (गुर्या) भनेको पनि पाइन्छ । यस वर्ष साउन १ गते गुरही (गुर्या) पर्व मनाइएको छ । गुरही (गुर्या) मा ‘नागबाबा’ लाई पूजा गर्दा सर्प घरमा नआउने, चट्याङ नपर्ने, आगलागी नहुने, दुःखकष्टको वज्रपात नपर्ने, रोगव्याधि र महामारी घरमा प्रवेश नगर्ने, लामखुट्टे भाग्ने जस्ता विश्वास थारू समुदायमा छ । थारू समाजमा गुरही (गुर्या) भन्नाले ‘गाइनेकिरा’ को पूजा हो । ठाउँ अनुसार गुरही पर्व फरक फरक तरिकाले मनाइने गरिन्छ । दिदीबहिनीले पूजा गरेको गुरहीलाई गाउँका मुखिया अर्थात् ‘भलमनसा’ ले एकै सासमा (एक संस्सु) दुबोमा गाँठो पारेर त्यसलाई ठटाउन आदेश दिन्छन् । गाउँका दाजुभाइले गुरिया (गुर्या) लाई ‘सोटा’ अर्थात् लट्ठीले ठटाउन थाल्छन् । बाबियो वा केराको रेसाबाट ‘सोटा’ बनाइएको हुन्छ । गुरहीलाई आफूसँग ल्याएको रङ्गीचङ्गी सोटाले ठटाउँदै ‘देउ घुघरी, लेउ घुघरी’ भन्दै गीत गाउने चलन छ । यसरी गुरही ठटाउँदा रोगव्याधि र भूतप्रेतको दुःखबाट छुटकारा पाइन्छ भन्ने जनविश्वास छ ।
जनविश्वास
लुगाको टुक्राले बनाएको पुत्लालाई गुरही (गुर्या) भन्ने गरिन्छ । गुरही बनाएर ‘चौपट्टी’ अर्थात् चौराहामा लगेर असराउने (पूजा गर्ने) गरिन्छ । गुरही असराइसकेपछि त्यहाँ जम्मा भएका दिदीबहिनी ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादका रूपमा बाँड्ने गर्छन् । चना, मकै, केराउ, मटरलगायत भुजा, कोहरी प्रसादका रूपमा बाँड्ने चलन छ । गुरही असराउन आएका दिदीबहिनीले ठटाएको भुजा र कपडाको टुक्रा सङ्कलन गरेर घरमा लैजाने गर्छन् । ती कपडाको टुक्रा घरको ढोकामा बाँध्ने र भुजालाई घरको छानामा छर्कने गरिन्छ । डुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट र सर्प बिच्छी घरबाट निस्केर जाने विश्वास छ । गुरहीलाई असराइसकेपछि नदीनाला कुलोमा सेलाइन्छ ।
थारू समुदायमा गुरहीलाई नागपञ्चमीका रूपमा मनाइने गरे पनि पहिले नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन थिएन । अहिले अन्य समुदाय जस्तै पूजा गर्ने गरिन्छ । गुरहीको आफ्नै धार्मिक महत्व छ । थारू समुदाय हिन्दु हो कि बौद्ध त्यो बहसको विषय हो तर परापूर्वकालदेखि हिन्दु धर्मको आचरण गरेको देखिन्छ । यो पर्वलाई नागदेवतासँग जोडिनु पनि हिन्दु धर्मसँग सम्बन्ध रहेको देखिन्छ ।
ढकिया कला
खेतबारीमा धान रोपिसकेपछि पर्ने यो पर्वले थकित मनलाई मेटाउने र शीतलता दिने काम गर्छ । यो पर्वपछि थारू महिलाले फुर्सदको समयमा घरमा बसेर गर्ने ‘हरचाली’ हस्तकलाको कामको पनि सुरुवात हुने स्थानीय चम्पाली डङ्गौरा बताउनुहुन्छ । उहाँका अनुसार ‘गोँरी बिन्न’ ढकिया बनाउन यो समय उपयुक्त हुन्छ । बर्सातको समयमा ढकिया बनाउन सजिलो हुन्छ । पानी परेकाले ‘मुन्ज’ (ढकिया बनाउन प्रयोग गरिने एक प्रकारको घाँस) नरम हुन्छ । यसले गर्दा ढकिया राम्रो बन्छ ।
पर्वको सुरुवात भइसकेकाले दसैँ आउने बाटो खुलिसकेको हुन्छ । दसैँको तयारी गर्ने पर्व पनि हो गुरही । उहाँ भन्नुहुन्छ, “गुरही जगाएसँगै नाचको सुरुवात हुन्छ । साँझ गुरही असराउने र त्यही राति गुरही (गुर्या) जगाउन रातभरि नाच्ने गरिन्छ । त्यसको भोलिपल्ट दिनभरि गुरही मनाएर सकिन्छ ।” पहिले रातभरि नाचगान, खानपिन गरेर मनाउने गुरही अहिले एक साँझमा सीमित भएको छ ।
थारू समुदायमा चाडपर्व जमेरै मनाइन्छ । गाउँघरमा सबै जना एकै थलोमा जम्मा भएर गुरही पर्व मनाउनु आफैँमा एकताको विषय हो । यसलाई एकताको सन्देशका रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई बचाएको सङ्केत र माया गुरहीमा देख्न पाइन्छ । बालबालिकाले मनाउने पर्व पनि हो, गुरही । यसलाई बालबालिकाले मनाउने पर्व पनि भनिन्छ तर अहिले बालबालिकामा सीमित नरहेको देखिन्छ । युवा, वयस्क, गाउँका अगुवा सबै जना सहभागी भएर सामूहिक रूपमा गुरही पर्व मनाउने गरिएको छ ।
कैलालीमा गुरही
गुरही मनाउने तरिका ठाउँ अनुसार फरक छ । कैलालीमा नागपञ्चमीको अघिल्लो दिन बेलुका गाउँको चिरकीले गाउँभरि चना, केराउ, गेडागुडी (कोहरी) भिजाउन जनाउ दिन्छन् । त्यसपछि सबै आमाले कोहरीको समान भिजाउनुहुन्छ । अर्को दिन सबै काम सकाएर आमाहरूले आफ्ना छोरीचेलीका लागि नयाँ कपडा, सिँगारका सामानका साथै गुरही (गुर्या) बनाउन व्यस्त हुन्छन् ।
गुरही (गुर्या) जोडामा बनाइन्छ । एक छोरा अर्को छोरी, एक जोडा । भनिन्छ थारू समुदाय प्रकृति पूजक हो । प्रकृतिमा केवल दुई जाति छ । यो जोडाले यही सङ्केत गर्छ । गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थका रूपमा लिइन्छ । गुरही (गुर्या) ले एक दिनमा एक सयभन्दा बढी लामखुट्टे खान सक्छ भन्ने उक्ति रहिआएको छ । यो प्राकृतिक नियमलाई पनि बचाउन सहयोग गर्छ ।
साँझ भएपछि भिजाएको चना, केराउलगायत गेडागुडी आदिको भुजा, कोहरी र केटाकेटी आकारको लुगाका टुक्राले बनाएको पुत्लालाई गुरही (गुर्या) लाई (नुइयाँ) सानो आकारको ढकियामा राखेर अविवाहित छोरीचेलीलाई नयाँ लुगा, कपडा लगाएर, सजाएर (चौपट्टी डगर) चौराहा, चोकमा (गुर्या) असराउन पठाइन्छ ।
त्यसपछि ‘चौपट्टी’ अर्थात् चौराहामा गुरही असराउन आउनेको भेला हुन्छ । सबै जना जम्मा भइसकेपछि गुरही असराउने गरिन्छ । असराएको गुरहीलाई ठटाउनका लागि गाउँका ‘भलमनसा’ ले एकै सासमा (एक संस्सु) दुबो घाँसमा गाँठो पारेर त्यसलाई ठटाउन आदेश दिएपछि गाउँका दाजुभाइले (गुर्या) लाई सोटाले ठटाउने गर्छन् । सोटा बाबियो वा केराको रेसाबाट बनाइएको हुन्छ । गुर्यालाई आफूसँग ल्याएको रङ्गीचङ्गी सोटाले ठटाउँदै दाजुभाइले ‘देउ घुघरी, लेउ घुघरी’ भन्दै गीत गाउँछन् ।
असराइसकेपछि त्यहाँ जम्मा भएका दिदीबहिनीहरू ‘गुरही’ ठटाएकै ठाउँमा भुजा, कोहरी छर्कने र जम्मा भएकालाई प्रसादका रूपमा बाँड्ने गर्छन् । चना, मकै, केराउ, मटरलगायत भुजा, कोहरी प्रसादका रूपमा बाँड्ने चलन छ । गुरही असराउन आएका दिदीबहिनीले ठटाएको भुजा र कपडाको टुक्रा सङ्कलन गरेर घरमा लैजाने र ती कपडाको टुक्रा घरको ढोकामा बाँध्ने र भुजालाई घरको छानामा छर्कने गरिन्छ । दुबोलाई घरमा राख्दा घरमा रहेको दुःखकष्ट निस्केर जाने विश्वास छ । गुरहीलाई असराइसकेपछि नदीनाला वा कुलोमा सेलाइन्छ ।