• १४ साउन २०८२, बुधबार

काठमाडौँमा ‘गुरही’ पर्वमा रमाए थारु समुदाय

blog

काठमाडौंको भृकुटिमन्डपमा गुरही पर्व मनाउदैँ थारु समुदायका वालवालिकाहरु । तस्बिरः गोरखापत्र

काठमाडौँ, साउन १३ गते । थारु समुदायले काठमाडौँमा गुरही पर्व मनाएको छ । बालबालिकाको पर्वको रूपमा मानिने यो गुरही पर्व थारु समुदाय जम्मा भएर काठमाडौँमा मनाएका हुन् । 

गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित रहेकाले थारु समुदायका बालबालिकाहरू जम्मा भएर भृकुटीमण्डपमा मनाइएको थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बताउनुभयो । 

उहाँका अनुसार गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोग व्याधीले नसताउने, महामारी नफैलिने भन्ने जनविश्वास छ । उहाँले भन्नुभयो, “गुरहीको आफ्नै मूल्य मान्यता छ, यो पर्व गाउँघरतिर कपडाको गुरही (गुडिया) बनाएर गाउँको चोकमा पूजा गरी विसर्जन गर्ने गरिन्छ ।

महिलाहरूले आफूसँग ल्याएको गुरही फाल्ने र पुरुषहरूले सोँताले ठटाउने, पिट्ने गरेपछि गुरहीसँग ल्याइएको प्रसाद (भुजा वा गेडागुडी) बाँडेर खाने र नाचगान गरी रमाइलो गर्दै मनाउने चलन छ ।

यस्तै, थारु आयोगका सदस्य भोलाराम चौधरीका अनुसार गुरही थारु समुदायले मनाउने एक मुख्य पर्व हो, तर यही पर्व मोरङमा बस्ने थारु समुदायले भने लाग पाँचे नामले मनाउने गरेका छन् । उहाँले भन्नुभयो, “पर्व यही हो तर पूर्व र पश्चिममा बस्ने थारुको रीतिरिवाज चालचलन फरक छ, त्यसैले मोरङमा लाग पाँचे मनाइन्छ जुन नाग पञ्चमीमा गर्ने सबै विधि जस्तै गरी मनाइन्छ तर, थारुको चलनअनुसार आँगनमा दुई वटा पोखरी बनाएर सबै प्रक्रिया पूरा गरी दूध चढाएर मनाइन्छ ।” 

थारु समुदायका अगुवा तथा गुठी संस्थानका पूर्व अध्यक्ष मीनराज चौधरीका अनुसार गुरही एक प्रकारको भुसुना खाने किरा हो । यसले भुसुना लामखुट्टेलगायतका महामारी फैलाउने किरालाई खान्छ । जसको कारण लाग्ने रोगमा कमी आएको छ । उहाँले भन्नुभयो, “थारु समुदायमा गुरही विभिन्न अर्थ लाग्ने गर्छ । गुर्ही÷गुरही भनेको कपडाको टुक्राले बनाइएको निर्जीव वस्तु हो भने अर्को गुरही जीवित गाइने किरा हो ।

थारु समुदायमा गुर्या पनि अनेकार्थी शब्द हो । यसको एउटा अर्थ पर्व हो भने अर्को माला हो । तर, जसरी यो पर्वमा मालाको कुनै लेनदेन छैन त्यसरी नै गाइने किराको पनि यो पर्वमा कुटाइ खानेकुरामा कुनै सम्बन्ध छैन ।” गुरही’ पर्व एक गुरही नामको किरा गाइने किरासँग जोडिएको छ ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।