• १९ कात्तिक २०८२, बुधबार

थारु महिलाले मनाए काठमाडौँमा समाचकेवा

blog

समाचकेवा पर्व मनाउँदै थारु समुदायका महिलाहरु ।

काठमाडौँ, कात्तिक १९ गते । भाइटीका अर्थात् गोबर्धनपूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्व काम विशेषले काठमाडौँमा बसोबास गर्दैआएका थारु समुदायले आज मनाएका छन् ।

दिदीबहिनीले माटोका विभिन्नखाले मूर्ति समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने पर्व समाचकेवा हो । पन्ध्र दिनसम्म मनाइने यस सांस्कृतिक पर्वमा रातको समयमा गाउँघरका कुमारी कन्या एकजुट भएर माटोले बनाइएका मूर्तिको लोकगीत गाएर पूजाआजा गर्ने गरेको थारु आयोगका कार्य बाहाक अध्यक्ष सुबोधसिंह थारूले बताउनुभयो ।  

दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समाचकेवाको कार्तिक पूर्णिमा अर्थात् आज (डगर भुल्ने) दिन रहेको थारु कल्याणकारिणी सभा उपत्यका समितिकी गिता चौधरीले बताउनुभयो । उहाँका अनुसार आज अविवाहिता किशोरीले समूह बनाएर समाचकेवा खेल्ने गर्छन् । 

द्वापरयुगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जङ्गलमा घुमघाम गर्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले भगवान् कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको विभिन्न किबदन्ती रहेको थारु आगुवा बुद्धसेन थारुले बताउनुभयो । उहाँका अनुसार भाइले दिदीलाई श्रापबाट मुक्त गराएका सोही दिनदेखि माटोले बनाएर सामाचकेवा पर्व मनाउन सुरु गरिएको हो । 

थारु सामुदाय सांस्कृतिक सम्पदामा एकदमै धनी भए पनि राजनीतिमा पछाडी परेकाले संस्कृतिलाई नै व्यावसायिक बनाउनुपर्नेमा प्रभुनारायण प्रतिष्ठान समितिका बिरेन्द्रप्रसाद चौधरीले जोड्दिनुभयो । पर्वको अन्तिम दिन पूर्णिमाको रातमा सो मूर्तिलाई परम्परागत गीत गाउँदै फुटाइने र सेलाउने गरेको सत्रुधन चौधरीले बताउनुभयो । तर, काठमाडौँमा काम व्यस्तताले गर्दा शनिबार समाचकेवा सेलाउन कार्यक्रम राखिएको छ ।  कार्यक्रम थारु महिला सभाका अध्यक्ष ललिताकुमारी चौधरीको अध्यक्षतामा भएको थियो । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।